Butwal Today

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी आइतबार अमेरिका जाँदै

१८ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल आगामी असार २१ गते अमेरिका प्रस्थान गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को निर्णयअनुसार दुवै सुरक्षा निकायका प्रमुखको अमेरिका भ्रमण स्वीकृत गरिसकेको जनाएको छ।

आईजीपीद्वय अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ यूएनको प्रधान कार्यालयमा आयोजना हुने विश्वका प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुनेछन्। जुलाई ७ देखि ९ तारिखसम्म सञ्चालन हुने उक्त सम्मेलनमा यूएन सदस्य राष्ट्रका प्रहरी संगठनका प्रमुखहरूको सहभागिता रहनेछ।

यसअघि प्रत्येक वर्ष आयोजना हुने सम्मेलनमा संगठन प्रमुखसँगै प्रहरी प्रधान कार्यालयको यूएन शाखाका प्रमुख तथा आईजीपीका स्टाफ अधिकृतसमेत सहभागी हुने अभ्यास थियो। संयुक्त राष्ट्रसङ्घले संगठन प्रमुखसहित दुई जनाका लागि औपचारिक निमन्त्रणा पठाउने गरेको थियो।

तर यस वर्ष पनि दुई जनाको निमन्त्रणा आए पनि मन्त्रिपरिषद्ले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरूको मात्र भ्रमण स्वीकृत गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। त्यसअनुसार यस पटक आईजीपीद्वय मात्रै सम्मेलनमा सहभागी हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?