Butwal Today

भवन मात्र होइन, अब सेवा पनि

१८ असार २०८३, बिहीबार
अ+
अ-

अर्घाखाँची  । अर्घाखाँची जिल्लामा लामो समयदेखि भवन निर्माण भएर पनि सञ्चालनमा आउन नसकेका १५ शैयाका अस्पताल अन्ततः सञ्चालनको चरणमा पुगेका छन् ।

सङ्घीय सरकारको ‘प्रत्येक स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल’ स्थापना गर्ने रणनीतिअनुसार निर्माण सम्पन्न भएका जिल्लाका तीन स्थानीय तहका अस्पताल अब सेवा प्रवाहका लागि तयारी अवस्थामा पुगेका हुन् ।

पाणिनि गाउँपालिका, मालारानी गाउँपालिका र भूमिकास्थान नगरपालिकाले आवश्यक स्वास्थ्यकर्मी नियुक्ति, औषधी तथा उपकरण व्यवस्थापन र प्रशासनिक तयारीलाई तीव्रता दिँदै आगामी साउन १ गतेदेखि अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेका छन् ।

विगत केही वर्षदेखि अस्पतालका भवन निर्माण सम्पन्न भए पनि जनशक्ति अभाव, उपकरण व्यवस्थापन र सञ्चालन खर्चको सुनिश्चितता नहुँदा सेवा सुरु हुन सकेको थिएन । अहिले भने सङ्घीय सरकारबाट प्राप्त सञ्चालन अनुदान र स्थानीय तहको बजेट व्यवस्थापनपछि ती अस्पताल सञ्चालनको बाटो खुलेको हो । यससँगै जिल्लाका हजारौँ नागरिकले सामान्यदेखि आधारभूत अस्पताल सेवाका लागि सदरमुकाम तथा जिल्ला बाहिर धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुने अपेक्षा गरिएको छ ।

पाणिनि गाउँपालिकाले पाणिनि–५, मैदानमा रहेका पाणिनि आधारभूत अस्पताल सञ्चालनका लागि सबैभन्दा तीव्र तयारी गरेको छ । गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य जनशक्ति नियुक्ति प्रक्रिया लगभग पूरा गरिसकेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालका अनुसार अस्पताल सञ्चालनका लागि १ जना मेडिकल अधिकृतसहित ११ जना स्वास्थ्यकर्मी नियुक्त गरिसकिएको छ । नियुक्त गरिएका जनशक्तिमा १ जना मेडिकल अधिकृत, २ जना हेल्थ असिस्टेन्ट (एचए), १ जना ल्याब टेक्निसियन, १ जना रेडियोग्राफर, १ जना स्टाफ नर्स तथा ५ जना अनमी रहेका छन् ।

अस्पताललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक प्रयोगशाला स्थापना, औषधी तथा स्वास्थ्य उपकरण खरिद, चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब–भत्ता र अन्य अत्यावश्यक व्यवस्थापनका लागि गाउँपालिकाले १ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसका अतिरिक्त सङ्घीय सरकारबाट अस्पताल सञ्चालनका लागि ८५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

गाउँपालिकाले सबै तयारी पूरा गरी आगामी साउन १ गतेदेखि नियमित रूपमा अस्पताल सेवा सुरु गर्ने लक्ष्य राखेको जनाएको छ । अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाभित्रका नागरिकले प्राथमिक उपचार, प्रयोगशाला परीक्षण, एक्स–रे लगायतका आधारभूत स्वास्थ्य सेवा आफ्नै पालिकाबाट प्राप्त गर्न सक्नेछन् ।

मालारानी गाउँपालिकाले पनि साउन १ गतेदेखि अस्पताल सञ्चालन गर्ने गरी तयारीलाई अगाडी बढाएको छ । गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मी नियुक्ति प्रक्रिया अघि बढाउनुका साथै औषधि तथा स्वास्थ्य उपकरण खरिद कार्यलाई समेत तीव्रता दिएको छ । गाउँपालिकाले १ जना मेडिकल अधिकृत, १ जना ल्याब टेक्निसियन र १ जना स्टाफ नर्स नियुक्तिका लागि प्रक्रिया अघि बढाएको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईका अनुसार मालारानी–३, खनदहमा निर्माण भएको अस्पताल भवनमै हाल सञ्चालनमा रहेको खनदह स्वास्थ्य चौकीलाई समेत समायोजन गरिनेछ । यसबाट हाल कार्यरत स्वास्थ्यकर्मीलाई पनि अस्पताल सेवामा परिचालन गरी उपलब्ध जनशक्तिको अधिकतम उपयोग गर्ने योजना बनाइएको छ ।

अस्पताल सञ्चालनका लागि सङ्घीय सरकारबाट ८५ लाख रुपैयाँ प्राप्त भएको छ भने प्रदेश सरकारको विशेष अनुदानअन्तर्गत २२ लाख रुपैयाँ बजेट पनि उपलब्ध भएको छ । थप आवश्यक बजेट गाउँपालिकाले आफ्नै स्रोतबाट व्यवस्थापन गर्ने गरी योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिएका छन् ।

स्थानीय सरकारले अस्पताल सञ्चालनसँगै मातृ तथा शिशु स्वास्थ्य सेवा, आकस्मिक उपचार, प्रयोगशाला सेवा तथा नियमित ओपिडी सेवालाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

भूमिकास्थान नगरपालिकाले चिदीचौरमा निर्माण सम्पन्न भएको १५ शैयाको अस्पताल सञ्चालनको प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले अस्पतालका लागि आवश्यक स्वास्थ्य जनशक्ति भर्ना गर्न विज्ञापन आह्वान गरिसकेको छ ।
नगरपालिकाले १ जना मेडिकल अधिकृत, १ जना ल्याब टेक्निसियनसहित आवश्यक स्वास्थ्यकर्मी नियुक्त गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीका अनुसार आगामी साउन १ गतेदेखि अस्पतालबाट ओपिडी सेवा सुरु गर्ने गरी सम्पूर्ण तयारी भइरहेको छ । क्रमशः अन्य स्वास्थ्य सेवा पनि विस्तार गर्दै लैजाने योजना रहेको नगरपालिकाले जनाएको छ ।

अस्पताल सञ्चालनका लागि सङ्घीय सरकारबाट आगामी आर्थिक वर्षका लागि ८५ लाख रुपैयाँ प्राप्त भएको छ भने नगरपालिकाले थप ४० लाख रुपैयाँ आफ्नै बजेटबाट विनियोजन गरेको छ । उक्त बजेटबाट औषधी, उपकरण, जनशक्ति व्यवस्थापन तथा अन्य सञ्चालन खर्च व्यवस्थापन गरिनेछ ।

जिल्लाका तीनवटै स्थानीय तहले एकै समयमा १५ शैयाका अस्पताल सञ्चालनको तयारी गरेसँगै अर्घाखाँचीमा आधारभूत स्वास्थ्य सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ ।

सङ्घीय सरकारले स्थानीय तहसम्म आधारभूत अस्पताल सेवा विस्तार गर्ने उद्देश्यले देशभर १५ शैयाका अस्पताल निर्माण अभियान अघि बढाएको थियो । तर धेरै स्थानमा भवन बने पनि सञ्चालन खर्च, जनशक्ति अभाव र उपकरण व्यवस्थापनका कारण अस्पतालहरू लामो समयसम्म सेवा सञ्चालन गर्न सकेका थिए । अर्घाखाँचीका यी तीन स्थानीय तहले भने आवश्यक बजेट व्यवस्थापन र स्वास्थ्य जनशक्ति नियुक्तिसँगै ती अस्पताललाई सञ्चालनमा ल्याउने चरणमा पु¥याएका छन् ।

साउन १ गतेदेखि अस्पतालहरू नियमित रूपमा सञ्चालनमा आए जिल्लावासीले आफ्नै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । यसले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउनुका साथै समय, खर्च र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता पनि उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?