© 2026
काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब आठ वर्ष पुग्न लाग्दा नेपाल प्रहरीले घटनाको अनुसन्धानलाई नयाँ ढंगबाट अघि बढाउन प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीं कृष्ण पंगेनीको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन गरेको छ।
प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्कीले अपराध अनुसन्धान विभागका एसएसपी पंगेनीको नेतृत्वमा समिति गठन गरेका हुन्। यसअघि गठन गरिएका विभिन्न अनुसन्धान समितिले घटनाको निष्कर्ष निकाल्न नसकेपछि नयाँ टोली परिचालन गरिएको हो।
१३ वर्षीया निर्मला पन्तको २०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा बलात्कारपछि हत्या भएको थियो। घटनापछि प्रहरीले अनुसन्धानका क्रममा १२३ भन्दा बढी शंकास्पद व्यक्तिको डीएनए परीक्षण गरे पनि कुनै नमुना मेल नखाएकाले अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले एसएसपी पंगेनी नेतृत्वको समितिले कञ्चनपुर पुगेर अनुसन्धान अघि बढाइरहेको जानकारी दिएका छन्। समितिमा आईजीपी सचिवालयमा कार्यरत डीएसपी हरि खतिवडा, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका एक इन्स्पेक्टरसहित अन्य अनुसन्धान अधिकृतहरू सहभागी छन्।
प्रहरी प्रधान कार्यालयले घटनाको सत्यतथ्य पत्ता लगाउने उद्देश्यका साथ नयाँ टोलीलाई कञ्चनपुरमा परिचालन गरी अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।