© 2026
काठमाडौं । चालु आर्थिक वर्षमा ९ सय ६६ जना उद्यमी स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बिहीबार सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत छनोट भएका उद्यमीलाई कर्जाका लागि सिफारिस गरेको हो।
प्रतिष्ठानका अनुसार स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि प्राप्त १० हजार २सय ४४ परियोजना प्रस्तावमध्ये प्रारम्भिक चरणमा एक हजार ३०१ परियोजना छनोट गरिएको थियो। त्यसपछि १ हजार २ सय ९८ परियोजनालाई प्रस्तुतीकरणका लागि बोलाइएकामा १ हजार १ सय ५६ प्रस्तावकले मात्रै प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतीकरणमा परियोजनाको फोटो, भिडियो, वित्तीय विवरण, व्यवसायिक योजना तथा प्रश्नोत्तरका आधारमा मूल्यांकन गरिएको थियो।
प्रतिष्ठानले कर्जा सिफारिसमा परेका उद्यमीका लागि पायक पर्ने बैंकको शाखा पनि तोकिसकेको छ। सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र सम्बन्धित बैंक शाखामा सम्पर्क गरी आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। प्रतिष्ठानका सूचना अधिकारी सघन दाहालका अनुसार वार्षिक कार्यक्रम भएकाले असार मसान्तपछि परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः निष्क्रिय हुनेछ। कर्जा सिफारिस भएका उद्यमीले व्यवसाय दर्ता तथा नवीकरण प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८१/ ८२ को करचुक्ता प्रमाणपत्रलगायत आवश्यक कागजातसहित तोकिएको बैंक शाखामा उपस्थित हुनुपर्नेछ।
सरकारले यस वर्ष स्टार्टअप कर्जा कार्यक्रमका लागि सुरुमा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। पछि अन्य शीर्षकको खर्च रकमान्तरण गरी कर्जा प्रवाहको रकम बढाएर एक अर्ब १० करोड रुपैयाँ पुर्याइएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले तेस्रो पटक स्टार्टअप कर्जा वितरण गर्न लागेको हो। अघिल्ला वर्षहरूमा केही प्रस्तावकले नक्कली भिडियो र गलत विवरण पेश गरेको पाइएपछि यस वर्ष स्थानीय तहमार्फत परियोजनाको स्थलगत निरीक्षणसमेत गरिएको थियो।
स्टार्टअप कर्जाका लागि उद्योग दर्ता भएको, नवीन प्रविधि र सिर्जनशील सोचमा आधारित, १० वर्षभन्दा कम पुरानो, वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको तथा नयाँ उद्यम सञ्चालन गरिरहेका व्यवसायी योग्य हुने व्यवस्था छ। कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन, सूचना तथा सञ्चार प्रविधि, स्वास्थ्य, शिक्षा, अटोमोबाइल, खाद्य प्रशोधन, यातायात, खानी तथा खनिज अनुसन्धानलगायतका क्षेत्रमा सञ्चालन भएका स्टार्टअपलाई कर्जा उपलब्ध गराइनेछ।
यस वर्ष प्रत्येक योग्य उद्यमीले न्यूनतम ५ लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण स्टार्टअप कर्जा प्राप्त गर्न सक्नेछन्। गत आर्थिक वर्ष ६सय उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ कर्जा वितरण गरिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा १ सय ६५ उद्यमीलाई २१ करोड रुपैयाँ कर्जा उपलब्ध गराइएको थियो।