© 2026
गुल्मी । गुल्मीमा यस वर्ष हालसम्म १३ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । समयमा वर्षा नहुनु, रासायनिक मलको अभाव र अधिकांश खेतहरू आकाशे पानीमा निर्भर भएका कारण कृषकहरूलाई धान रोपाइँ गर्न समस्या परेको हो ।
कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेका अनुसार यस वर्ष धान खेती हुने अनुमान गरिएको ६ हजार ५४१ हेक्टर क्षेत्रफलमध्ये असार १५ सम्म ८५०.३३ हेक्टर अर्थात् १३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको छ । राष्ट्रिय धान दिवस मनाउँदै गर्दा जिल्लाका अधिकांश खेतहरू अझै बाँझै रहेका छन् । सोमबारदेखि मात्र जिल्लामा बर्सात सुरु भएको छ ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले पर्याप्त वर्षा नहुँदा पानीको अभावले यस वर्ष धान रोपाइँ प्रभावित भएको बताए । उनले जिल्लाका अधिकांश ठुला फाँटहरूमा पानीको अभावका कारण रोपाइँ हुन नसकेको बताए । “अब निरन्तर वर्षा भएमा मात्र रोपाइँको कामले गति लिने अपेक्षा गरिएको छ”, धितालले भने ।
इस्मा गाउँपालिका–६ चौरासी फाँटका अगुवा कृषक कृष्ण घिमिरेका अनुसार गत वर्ष असार १५ सम्म जिल्लाको सबै भन्दा ठुलो फाँट चौरासी फाँटमा ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । तर यस वर्ष उक्त फाँटमा आइतबारसम्म करिब १५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
समयमै वर्षा नहुनु, सिँचाइको अभाव र रासायनिक मल सहज रूपमा उपलब्ध नहुनुले किसानहरू समस्यामा परेको कृषक घिमिरेले बताए ।
धुर्कोट गाउँपालिका–६ सिस्तुङका किसान मेघनाथ अर्यालले पनि पर्याप्त पानीको अभावका कारण समयमा धान रोप्न नसकिएको बताए । यस वर्ष रोपाईका लागि पानी नभएको कारण केही ढिला हुने उनको भनाइ छ ।
गुल्मीका अधिकांश धान उत्पादन हुने क्षेत्र अझै पनि आकाशे पानीमा निर्भर रहेका छन् । समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ ढिलो भएको र यसले यस वर्षको धान उत्पादनमा समेत असर पार्ने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
जिल्लामा बडिगाढ फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खज्र्याङ्, शान्तिपुर, मजुवा लगायतका फाँटहरू राम्रो धान उत्पादन हुने फाँट अन्तर्गत पर्दछन् । जिल्लामा धान बाली मकै बालीपछिको दोस्रो प्रमुख बालीको रूपमा रहेको छ ।