© 2026
रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले पछिल्लो पाँच महिनामा जिल्लाका विभिन्न स्थानमा लगाइएको ५६ रोपनी क्षेत्रफलको अफिम तथा गाँजा खेती नष्ट गरेको जनाएको छ। प्रहरीका अनुसार २०८२ फागुनदेखि २०८३ असार १२ गतेसम्म सञ्चालन गरिएको लागुऔषध नियन्त्रण अभियानअन्तर्गत परिवर्तन गाउँपालिका–४ तातापानीमा ७०० वटा अफिमका बोट फडानी गरिएको थियो। साथै थवाङ गाउँपालिकाका विभिन्न स्थानमा करिब ५५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती पनि नष्ट गरिएको छ।
असार १२ गते त्रिवेणी गाउँपालिका–६ को ऐलानी पाखो जमिनमा आफैं उम्रिएको करिब २ हजार ५०० गाँजाका बोट पनि नष्ट गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार अवैध लागुऔषध खेती नियन्त्रणका लागि अभियान निरन्तर सञ्चालन भइरहेको छ।
यद्यपि, यति ठूलो परिमाणमा अफिम खेती नष्ट गरिए पनि पक्राउ पर्ने व्यक्ति भने एक जना मात्रै रहेका छन्। परिवर्तन गाउँपालिका–४ का धनसिंह वलीलाई अफिम खेती गरेको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि कारागार पठाइएको छ। अन्य स्थानमा खेती नष्ट गरिए पनि सम्बन्धित किसान पक्राउ नपरेकाले सुरक्षा निकायको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले छिटो आर्थिक लाभको आशाले केही किसान अफिम खेतीतर्फ आकर्षित भएको हुन सक्ने बताए। प्रहरीले भने अवैध लागुऔषध खेती नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।