© 2026
रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–६ महतस्थित कन्टीघाने सिमखोला भित्री सडक खण्डमा गिट्टी–बालुवा निकाल्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ५ बजे सडकको भित्ताबाट गिट्टी–बालुवा निकालिरहेका बेला एक्कासि माटोको ढिस्को खस्दा तीन जना पुरिएका थिए।
स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्व पठाइएको थियो। उपचारका क्रममा करिब ५० वर्षीय दलखम्ब बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा सोही स्थानका करिब ५१ वर्षीय सम्पूर्ण बुढा गम्भीर घाइते भएका छन् भने ३० वर्षीय चिन्तामणि बुढा सामान्य घाइते रहेको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, जोखिमयुक्त क्षेत्रमा गिट्टी–बालुवा उत्खनन गर्दा आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्बन्धित निकाय तथा स्थानीयवासीलाई आग्रह गरेको छ।