Butwal Today

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा, अधिकांश किसान वर्षाकै भरमा

१६ असार २०८३, मंगलवार
अ+
अ-

ललितपुर। देशभर पर्याप्त वर्षा नहुँदा किसानले धान रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका छन्। खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै पनि आकाशे पानीमा निर्भर रहँदा कृषक उत्पादन जोखिमसँग जुध्न बाध्य भएका छन्।

सिँचाइ तथा जलस्रोत विभागका अनुसार नेपालमा नियमित सिँचाइ आवश्यक पर्ने क्षेत्रमध्ये हालसम्म ६२.६८ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा विस्तार भएको छ। विभागको तथ्याङ्कअनुसार देशभर ३५ लाख ५७ हजार ७६४ हेक्टर खेतीयोग्य जमिन रहेको छ। तीमध्ये २५ लाख ३६ हजार ३१९ हेक्टर जमिनमा नियमित सिँचाइ आवश्यक पर्ने भए पनि हालसम्म १५ लाख ९० हजार ३८८ हेक्टर क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ।

यस वर्ष समयमै पर्याप्त वर्षा नहुँदा धेरै जिल्लाका किसानले धान रोपाइँका लागि पानीको अभाव झेलिरहेका छन्। कतिपय स्थानमा रोपाइँका लागि तयार पारिएको धानको बेर्ना सुक्न थालेको छ भने अधिकांश किसान अझै वर्षाको प्रतीक्षामा छन्। यसले धान उत्पादनमा समेत नकारात्मक असर पर्ने चिन्ता बढेको छ।

सिँचाइ तथा जलस्रोत विभागका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्ष २०८१ /८२ मा १६ हजार ३०८ हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित विभिन्न आयोजना सञ्चालन गरिएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा थप ६ हजार ७५० हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिए पनि चैत मसान्तसम्म ४ हजार ४८ हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा विस्तार गर्न सकिएको छ। उनका अनुसार चालु आर्थिक वर्षमा निर्धारित लक्ष्य पूरा हुन नसक्नुको प्रमुख कारण आन्दोलनका कारण आयोजना प्रभावित हुनु तथा केही आयोजना कटौती हुनु हो।

विभागले कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुनिश्चित गर्न तथा जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न दीर्घकालीन र भरपर्दो सिँचाइ पूर्वाधार निर्माण अपरिहार्य रहेको जनाएको छ। सरकारले सिँचाइ विस्तारलाई प्राथमिकतामा राखेर विभिन्न आयोजना सञ्चालन गरिरहेको भए पनि लक्ष्यअनुसार काम अघि बढ्न नसक्दा किसान अझै वर्षाको भर पर्नुपर्ने अवस्था रहेको विभागको भनाइ छ।

विशेषगरी धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्न समयमै सिँचाइ पूर्वाधार विस्तार, निर्माणाधीन आयोजना सम्पन्न गर्ने र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?