Butwal Today

सुस्ता बचाउन काठमाडौँ केन्द्रित आन्दोलन घोषणा

१५ असार २०८३, सोमबार
अ+
अ-

बुटवल । सुस्ता बचाउ अभियानले सुस्ताको सीमा विवाद, नागरिकता र भूमि अधिकारका विषयमा सरकारको ध्यानाकर्षण गराउन साउन दोस्रो सातादेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।

अभियानले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै लामो समयदेखि समाधानको पर्खाइमा रहेका सुस्तावासीका समस्या सम्बोधन नभएकाले आन्दोलनको विकल्प रोज्न बाध्य भएको जनाएको हो ।

सुस्ता बचाउ अभियान नवलपरासीका अध्यक्ष आलम खाँले हालै प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिले भारतको मनोबल बढाउने काम गरेको आरोप लगाए । उनले सीमा सम्बन्धी कुनै पनि अभिव्यक्ति तथ्य र प्रमाणका आधारमा मात्रै दिनुपर्नेमा जोड दिँदै राज्यका जिम्मेवार व्यक्तिबाट आउने भनाइले राष्ट्रिय हितलाई कमजोर पार्न नहुने बताए ।

उनले जेठ २९ गते सुस्तामा भएको घटनालाई नेपाली नागरिकमाथि भएको अन्यायको उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपाली भएको पहिचानकै कारण सुस्तावासीले पटक–पटक दुःख र अपमान सहनुपरेको बताए । “हामीले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिले सुस्तावासीको पीडा बुझ्ने अपेक्षा गरेका थियौँ, तर उनीहरूकै अभिव्यक्तिले थप पीडा दिएको छ,“ उनले भने ।

सुस्ता बचाउ युवा अभियानका अध्यक्ष योगेन्द्र गौतमले भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेर गोली चलाउँदासमेत सरकारले प्रभावकारी प्रतिक्रिया नजनाउनु दुःखद भएको बताए । उनले राज्यले आफ्नो अस्तित्व र सुरक्षा सुनिश्चित गराउन नसकेको महसुस सुस्तावासीले गरिरहेको बताए ।

गौतमका अनुसार सुस्तामा करिब १२० घरधुरी रहे पनि झन्डै एक सय युवा अझै नागरिकताविहीन छन् । नागरिकता नहुँदा शिक्षा, रोजगारी, बैङ्किङ सेवा तथा अन्य सरकारी सुविधा प्राप्त गर्न समस्या भइरहेको उनले बताए ।

“मेरो दाजुले नागरिकता पाउनुभयो, तर मैले अझै पाएको छैन । आफ्नै जन्मभूमिमा नागरिकताविहीन भएर बाँच्नुपर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन,“ उनले भने ।

उनले नागरिकता, लालपुर्जा, सीमा सुरक्षा तथा सुस्तावासीका आधारभूत अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब दिन काठमाडौँ केन्द्रित आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा सुस्ता बचाउ अभियानका अभियानकर्ता लैला बेगम, मुन्ना खाँलगायतले सुस्ताको समस्या समाधानका लागि सरकारले तत्काल ठोस पहल गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले सुस्तावासीका राष्ट्रियता, सुरक्षा र विकाससँग जोडिएका मुद्दालाई अब थप उपेक्षा गर्न नहुने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?