Butwal Today

वृक्षारोपण तीव्र, संरक्षणमा चुनौती

१४ असार २०८३, आइतबार
अ+
अ-

दाङ । लुम्बिनी प्रदेशमा बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ । यस वर्ष प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरी ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ । सरकारी, निजी तथा सार्वजनिक स्थानमा विभिन्न प्रजातिका बिरुवा रोप्ने योजना रहेको छ ।

अभियानको शुभारम्भ आइतबार लुम्बिनी प्रदेशका चेतनारायण आचार्यले दाङको गढवा गाउँपालिका–२ महदेवास्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर गरेका हुन्।

मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्र उपलब्धि नभई त्यसको संरक्षण नै सबैभन्दा ठुलो चुनौती रहेको बताए। हरेक वर्ष लाखौँ बिरुवा रोपिए पनि संरक्षणको अभावका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै उनले रोपिएका बिरुवा हुर्काएर वनको रूप दिन सबै नागरिकको साझा जिम्मेवारी रहेको बताए।

उनले वन, वातावरण र जैविक विविधताको संरक्षणले मानव जीवन सुरक्षित हुने उल्लेख गर्दै बढ्दो वातावरणीय चुनौतीका बिच प्रकृतिको संरक्षण अपरिहार्य भएको धारणा राखे। वनलाई आयआर्जनको आधारका रूपमा विकास गर्नुपर्ने बताउँदै जडीबुटी, काठ तथा अन्य वनजन्य स्रोतको सदुपयोगबाट स्थानीय समुदाय आत्मनिर्भर बन्दै गएको र वन क्षेत्रबाट प्रदेशले वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व सङ्कलन गरिरहेको जानकारी दिए।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजीत थारुले प्रकृतिको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै सङ्कट निम्त्याउने चेतावनी दिए। वन तथा वातावरण संरक्षणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।

वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले यस वर्षको वृक्षारोपणमा जैविक विविधतालाई प्राथमिकता दिइएको बताए। पानी जम्ने क्षेत्रमा जामुन, अन्य स्थानमा मौवा, डाले घाँस, फूल फुल्ने तथा सांस्कृतिक महत्त्व बोकेका विभिन्न प्रजातिका बिरुवा रोपिएको जानकारी दिँदै उनले संरक्षण, गोडमेल र नियमित स्याहारबिना वृक्षारोपण सफल नहुने स्पष्ट पारे।

डिभिजन वन कार्यालय गौतम बुद्ध, कपिलवस्तुका प्रमुख महेन्द्रराज वाग्लेले चरिचरण नियन्त्रण, डढेलो व्यवस्थापन, झाडी सफाइ र नियमित हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताए।

सामुदायिक वन उपभोक्ता महासङ्घ दाङका अध्यक्ष हरिप्रसाद भुसालका अनुसार महदेवा सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा मात्रै ३० हजारभन्दा बढी बिरुवा रोपिएको छ। ती बिरुवाको संरक्षणको जिम्मेवारी सामुदायिक वन र उपभोक्तामाथि रहने उनले बताए।

यस वर्षको अभियानले वृक्षारोपणलाई व्यापक बनाएको भए पनि रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण, नियमित हेरचाह, डढेलो नियन्त्रण र चरिचरण व्यवस्थापन प्रभावकारी हुन सके मात्र अभियानले अपेक्षित उपलब्धि हासिल गर्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?