Butwal Today

नेपाली महिला समाज कतारको नयाँ नेतृत्व अध्यक्षमा सुष्मा कटुवाल सर्वसम्मत

१४ असार २०८३, आइतबार
अ+
अ-

दोहा (कतार) । नेपाली महिला समाज कतारले सुष्मा खतिवडा कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । अधिवेशनले कटुवालको अध्यक्षतामा २५ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा मेनुका खतिवडा भण्डारी, द्वितीय उपाध्यक्षमा माया खड्का कुँवर, तृतीय उपाध्यक्षमा लिला राई, महासचिवमा शारदा भुजेल, सचिवहरूमा दीपा सिंह र रविना पुलामी मगर, कोषाध्यक्षमा गीता पुन थापा र सह कोषाध्यक्षमा सबिता दाहाल भट्टराई चयन भएका छन्।

त्यस्तै, कार्यसमितिका सदस्यहरूमा सुनिता कोइराला आचार्य, उषा परियार, निशा पराजुली, अनिता राई, सम्झना गुरुङ, कला घिमिरे, रोशनी घिमिरे, सुनिता आचार्य, सलिमा मियाँ, तारा बिसी, सन्ध्या भण्डारी, शान्ता कटुवाल, प्रेमकला राई, सीता बिक, शर्मिला चौधरी र गन्धवी चौधरी रहेका छन्।नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिकी संयोजक अमिना खानले पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

संस्थाको १५ औ स्थापना दिवस तथा छैटौँ अधिवेशनूविधिगत रूपमा स्थापना दिवसको अवसरमा केक काटेर समुद्वघांट्न गरिएको कार्यक्रममा कलाकार टीका गुरुङको स्वागत नृत्य रहेको थियो । समाजले दुई बर्से कार्यकालमा उत्कृष्ट कार्यसम्पादन गरेको साङ्गठनिक प्रतिवेदन समाजकी महासचिव मेनुका खतिवडा भण्डारीले सभामा पेस गरेकी थिइन् ।

समाजको दुई बर्से कार्यकालमा समाजले आयोजना गरेका हरेक कार्यविधि तथा परियोजनालाई विभिन्न कोणबाट सहयोग पुर्‍याउँदै आएका कतारमा स्थापित विभिन्न सामाजिक सङ्घ संस्था,संस्थाका संस्थापकहरू पुर्वअध्यक्ष,कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरू लगायत विभिन्न सामाजिक व्यक्तित्व, व्यवसायी, कलाकार तथा पत्रकारहरूलाई नेपाली ढाका टोपी र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

अधिवेशनको सोही अवसरमा शुभकामना वक्ताहरूले संस्थाले विगत १५ वर्षदेखि महिला सामाजिक सेवामूलक कार्य, जनचेतनामूलक कार्यक्रम, परोपकारी अभियान तथा नेपाली समुदायको हितमा विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको खुलेर प्रशंसा गरेका थिए ।

संस्थाले कतारमा रहेका नेपाली दिदीबहिनीहरूलाई विभिन्न समस्या परेको खण्डमा आवश्यक सहयोग र परामर्श प्रदान गर्नुका साथै महिला नेतृत्व विकास, सीप अभिवृद्धि र समुदायको समग्र हितका लागि उल्लेखनीय भूमिका खेल्दै आएको शुभकामना  वक्ताहरूको भनाई रहेको थियो ।

नेपाली राजदूतावास कतारका राजदूत कुमार राई र दूतावासमा कार्यरत जनसम्पर्क अधिकारी (पिआरो) मोहम्मद ताजलाई ढाका टोपी र मायाको चिनो सहित विशेष सम्मान गरिएको थियो ।कतारमा रहेका नेपाली श्रमिक तथा विशेष गरी नेपाली महिलाका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनी प्रति कृतज्ञता व्यक्त गरिएको थियो।

संस्थामा विशेष योगदान पुर्‍याउने सामाजिक व्यक्तित्वहरू रमेश भट्ट, तेज कटुवाल र केशव कार्कीलाई मानार्थ सदस्यका रूपमा मनोनयन गर्दै सम्मानपूर्वक सदस्यता प्रदान गरिएको समाजले जनाएको छ।

अधिवेशनको अवसरमा दुई संस्था बिचको सम्बन्धलाई आपसी सद्भाव र थप प्रगाढ बनाउने उद्देश्यका साथ पाल्पाली सेवा समाज कतार र तमु गुरुङ समाज कतारले मायाको कोसेली समेत प्रदान गरेका थिए । लोक तथा दोहोरी गायिका तारा बिसीले साङ्गीतिक प्रस्तुति समेत राखेकी थिइन ।

नेपाली राजदूतावास कतारका कुमार राईले आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाली महिला समाज कतारले आगामी दिनमा अझ प्रभावकारी रूपमा नेपाली महिलाको हक, हित र सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै योगदान बढाउनुपर्नेमा उनले जोड दिए ।

उनले संस्थाले हालसम्म गरेका गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि यही सक्रियता र निरन्तरतासँग अझ प्रगति र उन्नति हासिल गर्ने विश्वास व्यक्त गरे।

नेपाली महिला समाज कतारकी अध्यक्ष लोकमाया केसीले सभालाई सम्बोधन गर्दै आफ्नो कार्यकाल सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र विश्वास गर्ने सामाजिक व्यक्तित्व, शुभेच्छुक तथा सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गरिन् ।

केसीले आफ्नो कार्यकालमा संस्थामार्फत महिला हित र संस्थाको विकासका लागि विभिन्न सकारात्मक काम गर्ने प्रयास गरिएको उल्लेख गर्दै बाँकी रहेका योजना तथा कार्यहरू नवगठित कार्यसमितिले निरन्तरता दिँदै सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गरिन्।

अन्त्यमा उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थाको निरन्तर प्रगति र एकताका लागि सबैको साथ र सहयोग आवश्यक रहने धारणा व्यक्त गर्दै खुल्ला सत्रको आफ्नो सम्बोधन समापन गरिन्।

नेपाली महिला समाज कतारमा रहेका नेपाली महिलाहरूको हक, हित, अधिकार संरक्षण, क्षमता अभिवृद्धि तथा आपसी एकतालाई सुदृढ बनाउने उद्देश्यका साथ स्थापना भएको एक अग्रणी सामाजिक संस्था हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?