© 2026
लुम्बिनी । सरकारले हरेक वर्ष असार १५ मा देशभर राष्ट्रिय धान दिवस मनाउँदै आए पनि यस वर्ष किसान भने उत्साहित हुन सकेका छैनन्। धान रोपाइँको मुख्य समयमा पर्याप्त वर्षा नहुनु र रासायनिक मलको चरम अभावका कारण देशका अधिकांश क्षेत्रमा रोपाइँ प्रभावित बनेको छ। असारको मध्यसम्म आइपुग्दा पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन। मनसुनी वायु पर्याप्त सक्रिय नहुँदा देशका धेरै भूभागमा खडेरीको अवस्था सिर्जना भएको छ। अर्कोतर्फ धान रोप्ने मुख्य समयमा रासायनिक मल अभाव भएपछि किसान दोहोरो समस्यामा परेका छन्।
यस वर्ष दक्षिण एसियाली जलवायु मञ्चले नेपालसहित दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको थियो। मौसमविद्का अनुसार प्रशान्त महासागरमा विकसित जलवायु चक्रका कारण मनसुन कमजोर बनेको हो। पूर्वी नेपालबाट ढिलो प्रवेश गरेको मनसुन मध्य र पश्चिम नेपाल पुग्दा कमजोर बनेपछि पर्याप्त वर्षा हुन सकेको छैन। विशेषगरी नेपालको अन्न भण्डार मानिने तराईका अधिकांश जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारी पुगेको छ। अत्यधिक गर्मीका कारण नदीनाला र सिँचाइ नहरमा पानीको बहाव घटेको छ भने आकाशे पानीमा निर्भर किसान सबैभन्दा बढी प्रभावित भएका छन्। पर्याप्त पानी नपाउँदा कतिपय स्थानमा धानको ब्याडमै बिरुवा सुक्न थालेको छ भने धेरै किसान अझै पनि रोपाइँ सुरु गर्न सकेका छैनन्।
लुम्बिनी प्रदेशमा भने यस वर्ष धान रोपाइँको दर गत वर्षको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार असार १३ गतेसम्म लुम्बिनी प्रदेशमा २०.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ । यस प्रदेशमा धान रोपाइँ हुने कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६२ हजार ६ सय ७० दशमलव ८७ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ । गत वर्षको यसै अवधिमा लुम्बिनीमा ९.६६ प्रतिशत अर्थात् २९ हजार २ सय ५१ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको थियो ।
पर्याप्त वर्षा नहुनु र सिँचाइको अभावका कारण देशभर करिब १२ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ। आकाशे पानीमा निर्भर किसानहरू खेत तयार हुँदाहुँदै पनि रोपाइँ गर्न नपाएर चिन्तित बनेका छन् भने कतिपय स्थानमा धानको ब्याडमै बिरुवा छिप्पिन थालेको छ। प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ बाँकेमा भएको छ। ३३ हजार ८७० हेक्टरमा धान खेती हुने बाँकेमा हालसम्म करिब १६९ हेक्टर अर्थात् ०.५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ। पानीको अभावका कारण अधिकांश खेत अझै बाँझै रहेका छन्।
पश्चिम नवलपरासीमा सबैभन्दा बढी ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। जिल्लाको २० हजार ८८७ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १० हजार ४४३ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ। रूपन्देहीमा ६३ हजार ५५० हेक्टरमध्ये २७ हजार ३२६ हेक्टर अर्थात् ४३ प्रतिशत क्षेत्रमा धान रोपिएको छ। यस्तै, दाङमा १५ प्रतिशत, बर्दियामा १९.३१ प्रतिशत तथा कपिलवस्तुमा १.५८ प्रतिशत मात्रै रोपाइँ भएको छ। कपिलवस्तुमा ६६ हजार २२५ हेक्टर धान खेती हुने भए पनि हालसम्म करिब एक हजार ५०० हेक्टर क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको छ।
पहाडी जिल्लाहरूमा भने सिँचाइ सुविधा भएका क्षेत्रमा रोपाइँ अपेक्षाकृत राम्रो देखिएको छ। प्यूठानमा ६ हजार ५२५ हेक्टरमध्ये ५ हजार ७४२ हेक्टर अर्थात् ८८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ, जुन प्रदेशकै सबैभन्दा बढी हो। कृषि प्रसार अधिकृत नवीन गैरेका अनुसार प्यूठानमा अधिकांश खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेका कारण रोपाइँले तीव्रता पाएको हो। यस्तै, रोल्पामा ४० प्रतिशत, रुकुम पूर्वमा २५ प्रतिशत, अर्घाखाँचीमा ११।२ प्रतिशत र गुल्मीमा ७ प्रतिशत रोपाइँ भएको छ। पाल्पामा भने ७ हजार २८७ हेक्टरमध्ये २९१ हेक्टर अर्थात् ४ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ, जुन पहाडी जिल्लामध्ये सबैभन्दा कम हो।
किसानहरू पानी अभावका कारण रोपाइँ गर्न नसकिरहेको अवस्थामा प्रदेश तथा स्थानीय सरकार भने असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाउने तयारीमा जुटेका छन्। प्रदेश सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा तीनै तहका सरकारको समन्वयमा धान दिवस मनाउने कार्यक्रम तय गरेको छ।
कृषि विकास निर्देशनालयका निमित्त निर्देशक रामप्रसाद पाण्डेका अनुसार किसानको मनोबल बढाउने उद्देश्यले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा सुनवलमा विशेष कार्यक्रम आयोजना गरिएको हो। यस्तै, रूपन्देहीको शुद्धोधन गाउँपालिका–मानपकडीमा पनि कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरीको उपस्थितिमा धान दिवस मनाउने तयारी गरिएको कृषि ज्ञान केन्द्र रूपन्देहीले जनाएको छ।