Butwal Today

रास्वपाको प्रदेश सभा खारेजी प्रस्ताव अपरिपक्व :वर्षमान पुन

१४ असार २०८३, आइतबार
अ+
अ-

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयतासम्बन्धी अघि सारेको पछिल्लो प्रस्तावलाई अवसरवादी, असान्दर्भिक र वैचारिक रूपमा अपरिपक्व भएको टिप्पणी गरेका छन्।आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले निर्वाचनका बेला संघीयता सुदृढ गर्ने प्रतिबद्धता जनाएको रास्वपाले अहिले महाधिवेशनमार्फत प्रदेश सभा खारेज गर्ने प्रस्ताव अघि सार्नु जनमतमाथिको धोका भएको बताए।

उनले रास्वपाभित्र नै संघीयताबारे स्पष्ट र एकीकृत धारणा नरहेको दाबी गर्दै सभापतिको प्रस्तावमा संविधान र संघीयताप्रति प्रतिबद्धता देखिए पनि उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारेज गर्ने विषय समेटिनुले पार्टीभित्र वैचारिक द्वन्द्व र अपरिपक्वता उजागर भएको बताए। पुनले संघीय लोकतान्त्रिक व्यवस्था हजारौँ नागरिकको बलिदान र लामो राजनीतिक संघर्षबाट स्थापित भएको उल्लेख गर्दै त्यसलाई कमजोर बनाउने प्रयास ‘आगोसँग खेल्नु’ सरह हुने चेतावनी दिए। उनले भने, “प्रधानमन्त्रीकै उपस्थितिमा जनकपुर, सुदूरपश्चिम र कर्णालीमा संघीयता बलियो बनाउने भाषण गर्ने, तर महाधिवेशनमा पुगेर प्रदेश खारेजीको प्रस्ताव ल्याउनु द्वैध र अवसरवादी चरित्र हो।

प्रदेश सभाविहीन संरचना भनेको विगतको एकात्मक व्यवस्थातर्फ फर्किनु हो। संघीयताको मर्म जनताले निर्वाचित गरेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्नु हो, केवल प्रशासनिक इकाइ कायम गर्नु होइन।”पुनले नयाँ राजनीतिक संस्कारको दाबी गर्ने रास्वपाका पछिल्ला अभिव्यक्ति र गतिविधिले लोकप्रियतावाद र वैचारिक अपरिपक्वता मात्र उजागर गरेको आरोपसमेत लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?