© 2026
नवलपरासी ।
असार महिना बित्न लाग्दासमेत वर्षा नहुँदा नवलपरासीका किसान चिन्तित बनेका छन् । भूमिगत सिँचाइको सुविधा पुगेका क्षेत्रका किसानले धान रोपाइँ गरे पनि सिँचाइको पहुँच नभएका अधिकांश किसानले अझै धान रोप्न सकेका छैनन् ।
आकाशे पानी नपर्दा जिल्लाका आधाभन्दा बढी खेतमा धान रोपाइँ हुन सकेको छैन । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार हालसम्म करिब ४२–४३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । रोपिएको धानसमेत पानीको अभावका कारण सुक्न थालेको छ भने खेतमा धाँजा फाट्न थालेपछि किसान थप चिन्तित बनेका छन् ।
ूपानी नपर्दा सबै खेतमा रोपाइँ गर्न पाएका छैनौँ । जेनतेन भूमिगत सिँचाइको सहारामा रोपिएको धान पनि सुक्न थालेको छ,ू सरावल गाउँपालिका–३ का कृषक रामानन्द हरिजनले भने ।
जिल्लामा करिब २० हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । असारको आधा महिना बित्न लाग्दासमेत वर्षा नभएकाले स्यालो ट्युबवेल, लिफ्ट सिँचाइ र बोरिङको सुविधा पुगेका स्थानमा मात्रै धान रोपाइँ भएको छ ।
केही दिनयता अत्यधिक गर्मी बढेसँगै जनजीवनसमेत कष्टकर बन्दै गएको छ । किसानले समयमै पर्याप्त वर्षा नभए धान उत्पादनमा समेत नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरेका छन् ।