© 2026
प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना मगरको शनिबार भएको सवारी दुर्घटनामा निधन भएको छ। शनिबार बेलुकी करिब ४ः४५ बजे स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको ल.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२, बाङ्गेशालमा दुर्घटनामा परेको थियो। गाडी सडकबाट करिब ४०० मिटर तल भिरमा खसेर सल्लाको रूखमा अड्किएको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार उपप्रमुख राना मगर गाडीभित्र सिटमा च्यापिएको अवस्थामा फेला परेका थिए। दुर्घटनाको जानकारी पाएपछि स्थानीयवासी र प्रहरीको संयुक्त उद्धार टोली फलाम काट्ने उपकरणसहित घटनास्थल पुगेको थियो। अप्ठ्यारो भौगोलिक अवस्थाका कारण करिब साढे दुई घण्टापछि उहाँलाई अचेत अवस्थामा उद्धार गरिएको थियो।
उपचारका लागि स्थानीय अस्पताल पुर्याइए पनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी नरहरि अधिकारीले दुर्घटनास्थल निकै अप्ठ्यारो भएकाले उद्धार कार्यमा कठिनाइ भएको जानकारी दिए।
उपप्रमुख राना मगर २०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट स्वर्गद्वारी नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएका थिए। उहाँको असामयिक निधनप्रति स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूले दुःख व्यक्त गरेका छन्।