Butwal Today

फल दिने बेलामा बोटै काट्नुपर्ने पीडा

१२ असार २०८३, शुक्रबार
अ+
अ-

गुल्मी । कफीको जननी जिल्ला गुल्मीमा पछिल्लो समय सेतो गवारोको प्रकोप बढ्दै जाँदा कफी किसान चिन्तित बनेका छन् ।

वर्षौँको मेहनत र लगानीपछि उत्पादन दिन थालेका कफीका बोटसमेत रोग–कीराको प्रकोपका कारण काट्नुपर्ने अवस्था आएपछि किसान निराश बन्न थालेका हुन् ।

“लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौँसम्म हुर्काएका बोट काट्नुपर्दा मनै रोयो,” रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवाकी कफी कृषक माया भट्टराईले भनिन्, “अब कफी खेती कसरी जोगाउने भन्ने चिन्ता बढेको छ ।”

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का कृषक हरिलाल पौडेलको पीडा पनि उस्तै छ । “गवारोले त उठीबास नै लगायो । फल दिने बेलामा रुखै काट्नुपर्ने अवस्था आएको छ,” उनले भने, “किसानले लगानी गरिरहे पनि उत्पादन सुरक्षित हुने अवस्था छैन ।” त्यसै गरी प्युठानका कृषक श्याम बहादुर थापाको पीडा पनि उस्तै छ ।

कफी उत्पादनको इतिहास बोकेको गुल्मीमा पछिल्ला वर्षहरूमा व्यावसायिक कफी खेती विस्तार हुँदै गएको छ । तर रोग–कीराको प्रकोप, गुणस्तरीय बिरुवाको अभाव, प्राविधिक ज्ञानको कमी, सिँचाइ र बजार व्यवस्थापनका समस्याले किसानलाई थप चिन्तित बनाएको छ ।

यिनै समस्याहरूको समाधान खोज्नका लागि कफी विकास केन्द्र आँप चौर, गुल्मीले सदरमुकाम तम्घासमा कफी कृषकहरूसँग अन्तर्क्रिया गरेको छ । कफी विकास केन्द्रको आयोजनामा कफी उत्पादक, निर्यातकर्ता तथा सहकारी संस्थासँग समन्वयमा समस्या समाधानार्थ कार्यक्रमका सहभागी किसानहरूले सेतो गवारोको प्रकोप अहिलेको सबैभन्दा ठूलो समस्या बनेको बताएका छन् ।

उनीहरूका अनुसार हिउँदमा कफीका बेर्ना सुक्ने, गुणस्तरीय बीउ तथा बिरुवाको अभाव हुने, पातमा डढेलो जस्तो रोग देखिने तथा आवश्यक प्राविधिक परामर्श नपाउँदा उत्पादनमा प्रतिकूल असर परेको छ । भावले पनि कफी खेतीलाई चुनौतीपूर्ण बनाएको किसानको भनाइ छ ।

त्यस्तै, बजार व्यवस्थापनमा एकरूपता नहुँदा उत्पादकले उचित मूल्य नपाउने र आर्थिक घाटा व्यहोर्नुपरेको गुनासो पनि किसानले गरेका छन् ।
कफी विकास केन्द्र आँप चौर, गुल्मीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा गुल्मी, अर्घाखाँची र प्युठानका अगुवा कफी कृषकको सहभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका प्रमुख नवराज पण्डित, कफी विकास केन्द्र आँपचौरका वरिष्ठ बागवानी अधिकृत राहुल पाण्डे, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धिताल तथा जिल्ला सहकारी सङ्घ गुल्मीका उपाध्यक्ष सोमनाथ सापकोटाले किसानका जिज्ञासाको जवाफ दिँदै कफी क्षेत्रका समस्या समाधानका लागि सबै सरोकारवाला निकायबिच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

उनीहरूले कफी उत्पादन, प्रशोधन, बजारीकरण र निर्यातलाई व्यवस्थित बनाउन किसान, सहकारी, स्थानीय तह, सरकारी निकाय तथा निजी क्षेत्रबिच प्रभावकारी सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । साथै उनीहरूले रोग तथा कीरा नियन्त्रण, गुणस्तरीय बिरुवा उत्पादन, प्राविधिक सेवा विस्तार र बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

नेपालमा व्यावसायिक कफी खेतीको सुरुआत भएको जिल्ला गुल्मीमा हाल एक हजार आठ सयभन्दा बढी किसान कफी खेतीमा आबद्ध छन् । तर बढ्दो रोग–कीराको प्रकोप र बजार व्यवस्थापनका चुनौती समयमै समाधान गर्न नसके कफी खेतीप्रतिको किसानको आकर्षण घट्दै जानसक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?