Butwal Today

साइबर अपराध कम गर्नका लागि डिजिटल साक्षरता आवश्यकता 

११ असार २०८३, बिहीबार
अ+
अ-

बुटवल । सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै साइबर अपराधका घटना बढ्दै गएपछि नागरिकलाई डिजिटल सुरक्षाबारे सचेत बनाउन बुटवल उपमहानगरपालिका वडा नं. १० को समन्वय तथा पब्लिक भ्वाईस नेपाल लुम्बिनीको आयोजनामा दुई दिने साइबर सुरक्षा तथा डिजिटल साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वडा नं. १० का अध्यक्ष बलबहादुर पुनले प्रविधिको पहुँच विस्तारसँगै यसको दुरुपयोगका घटना पनि बढ्दै गएको बताए ।

उनले सामाजिक सञ्जाल, अनलाइन माध्यम तथा डिजिटल प्लेटफर्म प्रयोग गर्दा नागरिकले विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याउँदै अपरिचित व्यक्ति वा शङ्कास्पद समूहसँग अनावश्यक सम्पर्क र संवाद नगर्न आग्रह गरे ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले साइबर सुरक्षामा सामान्य लापरबाहीले समेत ठूलो आर्थिक तथा सामाजिक क्षति निम्त्याउन सक्ने बताए । उनले ओटीपी, पासवर्ड, बैङ्क खातासम्बन्धी विवरण तथा अन्य गोप्य जानकारी कसैलाई पनि नदिन आग्रह गर्दै अपरिचित व्यक्तिबाट आउने आकर्षक प्रस्ताव, पुरस्कार वा लगानीका प्रलोभनमा नपर्न सुझाव दिए ।

कार्यक्रममा प्रशिक्षण दिँदै अधिवक्ता दामोदर घिमिरेले साइबर अपराधलाई नेपालको कानुनले गम्भीर अपराधका रूपमा परिभाषित गरेको उल्लेख गरे । उनले सामाजिक सञ्जालको दुरुपयोग, व्यक्तिगत विवरण चोरी, अनलाइन ठगी, बैङ्किङ अपराध तथा साइबर हिंसाजस्ता घटनामा कानुनी कारबाहीको स्पष्ट व्यवस्था रहेको जानकारी दिए ।

कार्यक्रम संयोजक तथा वडा सदस्य रमेश प्रसाद अधिकारीले वडावासीलाई सुरक्षित डिजिटल संस्कृतिसँग जोड्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । पब्लिक भ्वाईस नेपालका अध्यक्ष राधा बस्नेतले पछिल्लो समय सूचना प्रविधिमा सहज पहुँच बढेसँगै जानेर वा नजानेर साइबर अपराधका घटनामा संलग्न हुने तथा पीडित बन्ने क्रम बढिरहेको बताइन ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा साइबर सुरक्षाका आधारभूत सिद्धान्त, सुरक्षित पासवर्डको प्रयोग, सामाजिक सञ्जालको जिम्मेवार उपयोग, अनलाइन ठगीबाट बच्ने उपाय, डिजिटल गोपनीयता तथा साइबर अपराध सम्बन्धी कानुनी व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?