© 2026
पाल्पा । रामपुर नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन ४५ दिने होजियारी तालिम प्रदान गरेको छ ।
उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाहरूको लागि तालिम प्रदान गरिएको हो ।
यस अघि खादा बनाउने तालिम लिएका महिलाहरू मध्ये ७ जनालाई थप तालिम प्रदान गरेको हो । रामपुर नगरपालिकाको आयोजनामा भएको तालिममा महिलाहरूलाई उनको धागोबाट विभिन्न डिजाइनका स्वेटर, हाइनेक, टोपी, मोजा, पञ्जालगायत सामग्री बुन्न तथा मेसिन मर्मत सम्बन्धी तालिम प्रदान गरेको हो ।
तालिम समापनको अवसरमा सहभागी महिलाहरूलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्दै आएको बताए ।
कतिपय महिला दिदी बहिनीहरूले तालिम लिएर व्यावसायिक रूपमा सक्रिय भएको बताए । नगरपालिकाले प्रदान गर्ने तालिमको सही सदुपयोग होस् भन्ने उद्देश्यले सहभागीलाई तालिम व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाएमा मात्र सहभागी गराएर तालिम प्रदान गर्दै आएको बताए ।
तालिम लिएर उद्यम सुरु गर्ने महिलाहरूलाई आवश्यक उपकरणहरू अनुदानमा प्रदान सँगै नगरपालिकाले बजारको सुनिश्चितता गर्ने भन्दै महिलाहरूलाई प्राप्त सिपको सदुपयोग गर्दै उद्यमशील बन्न आग्रह गरे ।
उपप्रमुख बालकुमारी थापाले उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम मार्फत महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउन तालिमहरू सञ्चालन गर्दै आएको बताइन ।
तालिम पश्चात् उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आउनु भएका महिलाहरूलाई आवश्यकता अनुसार उपकरणमा पनि अनुदान प्रदान गर्दै आएको बताइन । उनले उद्यमी महिलाहरूले उत्पादन गरेका सामान उपप्रमुख कोसेली घर बाट विक्री वितरण गर्ने वातावरण निर्माण गरिएको जानकारी दिइन ।
साथै महिला दिदीबहिनीहरूले उत्पादन गरेको सामग्रीको बजार सुनिश्चितता लागि विभिन्न सङ्घ संस्था सँग पनि सहकार्य भइरहेको जानकारी दिइन् । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले तालिम लिनु मात्र नभै प्राप्त तालिम कसले कति सदुपयोग गरे भन्ने कुरा महत्त्वपूर्ण रहने बताए ।