Butwal Today

सवा एक करोड लगानीमा बन्यो वडाको भवन, जग्गादाता सम्मानित 

१० असार २०८३, बुधबार
अ+
अ-

सल्यान । 

सल्यान त्रिवेणि गाउँपालिकाको ३ नं वडा कार्यालयले १० कोठे पक्की भवनबाट सेवा सुरु गरेको छ ।

बुधवार वडा कार्यालयको नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको हो । प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउने उद्देश्यसहित निर्माण गरिएको भवनको  गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले उद्घाटन  गरेका हुन् ।

एक करोड १६ लाख ६१ हजार ८९ रुपियाँ लागतमा भवन निर्माण भएको गाउँपालिकाका प्रवक्ता छवि शर्माले जानकारी दिए । उनका अनुसार यससँगै पालिकाका सबै वडा कार्यलयहरुले आफ्नै भवनबाट सेवा दिइरहेका छन् ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष रावतले जनताको घरदैलोमै सेवा पुर्‍याउने उद्देश्य अनुसार भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको र आगामी दिनमा पनि विकास निर्माणका कामलाई निरन्तरता दिने बताए । उनले जग्गादाता तथा निर्माण व्यवसायीप्रति आभार व्यक्त गर्दै सहकार्यकै कारण योजना सफल भएको बताए ।

उद्घाटन कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, वडा नं। ३ का जनप्रतिनिधिहरू, कर्मचारीहरू, जग्गादाता तथा  स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसरमा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता र निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई कदर पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । वडा कार्यालय भवन निर्माणका लागि स्थानीयहरू डम्बर बहादुर बस्नेत, हिरासिंह बस्नेत, रेवन्त बहादुर केसी, टोप बहादुर बस्नेत र केश बहादुर बस्नेतले जग्गा दान गरेका थिए ।

नयाँ वडा कार्यालय भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ सहज, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाले पनि एकै स्थानबाट वडा स्तरीय सम्पूर्ण सेवा प्राप्त गर्न सकिने भएपछि खुसी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?