Butwal Today

जापानको सहयोगमा सरावलमा सुविधा सम्पन्न विद्यालय भवन शिलान्यास

१० असार २०८३, बुधबार
अ+
अ-

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित जनता आधारभूत प्राथमिक विद्यालयमा धनगडहवामा जापानी सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ।

बालमैत्री तथा समावेशी शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले चाइल्ड फण्ड जापानको आर्थिक सहयोग तथा इन्द्रेणी सामाजिक विकास मञ्चको साझेदारीमा विद्यालय भवन निर्माण कार्य सुरु गरिएको हो।

निर्माण हुन लागेको भवनको लागत भ्याट बाहेक २ करोड ६८ लाख २७ हजार रुपैयाँ रहेको छ। परियोजना अन्तर्गत ६ कोठे आरसीसी भवन निर्माण गरिनुका साथै ६ वटा शौचालय र ४ वटा खानेपानी स्टेशन समेत निर्माण गरिने जनाइएको छ। निर्माण कार्य आगामी पौष २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य विक्रम खनाल ले आधुनिक र सुविधा सम्पन्न शैक्षिक पूर्वाधार निर्माणले विद्यार्थीको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले विद्यालय भवन निर्माणसँगै शैक्षिक गुणस्तर सुधारमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदल तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी ले इन्द्रेणी सामाजिक विकास मञ्चले शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए ।

उनीहरूले ग्रामीण क्षेत्रमा यस्ता विकास साझेदारीका कार्यक्रमले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गरे ।

चाइल्ड फण्ड जापानका कन्ट्री डाइरेक्टर आङ पासाङ शेर्पा ले संस्थाले विशेष गरी ग्रामीण क्षेत्रका विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, सरसफाइ तथा स्वास्थ्यका क्षेत्रमा निरन्तर काम गरिरहेको जानकारी दिए। सबै सरोकारवालाको सहकार्य र सहभागिताले मात्रै दिगो तथा नतिजामुखी विकास सम्भव भएको उनको भनाइ थियो।

इन्द्रेणी सामाजिक विकास मञ्चका प्रतिनिधिहरूले विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनले विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरे। परियोजनाले बालबालिकामैत्री तथा समावेशी शिक्षालाई प्रवर्द्धन गर्नुका साथै विद्यालयमा सरसफाइ र स्वास्थ्यसम्बन्धी सुविधासमेत विस्तार गर्ने अपेक्षा गरिएको छ।

चाइल्ड फण्ड जापानले नवलपरासी जिल्लाका १२ वटा विद्यालयमा बालमैत्री तथा समावेशी शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यका साथ विभिन्न पूर्वाधार तथा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त परियोजनाअन्तर्गत विद्यालय भवन, शौचालय, खानेपानी तथा अन्य आवश्यक शैक्षिक संरचना निर्माणका कार्यहरू अघि बढाइएको जनाइएको छ।

विद्यालय परिवार एवम् अभिभावकहरूले नयाँ भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने र विद्यार्थीको नियमित उपस्थितिसमेत बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

विद्यालयको भौतिक पूर्वाधार सुदृढ भएसँगै गुणस्तरीय शिक्षाको पहुँच विस्तारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।कार्यक्रममा स्थानीय,अभिभावक,विद्यार्थी एवम् ईन्द्रेणी सामाजिक विकास मन्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।ईन्द्रेणी सामाजिक विकास मञ्च यो क्षेत्रकै पुरानो अब्बल गैर सरकारी संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?