Butwal Today

प्रतापपुरको नीति तथा कार्यक्रम :कृषि,उद्यम विकास र शिक्षालाई प्राथमिकता 

८ असार २०८३, सोमबार
अ+
अ-

पश्चिम, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँ सभाको २१औँ अधिवेशनमार्फत सार्वजनिक गरिएको नीति तथा वार्षिक बजेट कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव ले जानकारी दिए।

अध्यक्ष यादवका अनुसार गाउँपालिकालाई आधुनिक कृषि प्रणालीमार्फत आत्मनिर्भर बनाउने लक्ष्यसहित कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। वडा नं. १ मा रहेको चिस्यान केन्द्र सञ्चालनमा ल्याइने, दूध, मासु, अण्डा तथा अन्य पशुजन्य उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम लागू गरिनेछ।

कृषि विद्युतीकरणलाई प्रोत्साहन गर्न कृषि मिटरमा लाग्ने दस्तुर छुट गरिने तथा युवालाई वैदेशिक रोजगारीतर्फ पलायन हुनबाट रोक्न कृषिसँग जोडिएका सीपमूलक तालिम सञ्चालन गरिने नीति लिइएको छ।

उद्योग क्षेत्रको विकासका लागि ५० लाख रुपैयाँभन्दा बढी लगानी गर्ने उद्योगीलाई प्रतापपुरमा लाग्ने सम्पूर्ण स्थानीय कर पाँच वर्षसम्म छुट दिने व्यवस्था प्रस्ताव गरिएको छ। साथै स्थानीय उत्पादनको बजारीकरणका लागि कोसेली घर निर्माण गरिने कार्यक्रम पनि समेटिएको छ।
पर्यटनतर्फ पर्यटकीय क्षेत्रहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकता दिइएको छ।

एग्रो–टुरिजम मास्टर प्लान तयार गरी पहिचान भएका स्थानमा होमस्टे सञ्चालनका लागि स्थानीयलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ।
शिक्षा क्षेत्रमा माध्यमिक विद्यालयमा प्राविधिक धारको शिक्षा विस्तार गरिने तथा ‘अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम’ सञ्चालन गरिने भएको छ। स्वास्थ्यतर्फ ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सेवा पहुँच विस्तार गर्न ‘अध्यक्षसँग घरदैलो स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन गरिने नीति ल्याइएको छ।

यस्तै, चालु आर्थिक वर्षभित्र कम्तीमा दुई स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने र आगामी वर्ष गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।प्रतापपुर गाउँपालिकाको लाइफलाइनको रूपमा रहेको ८ किलोमिटर सडक कालोपत्रे गरिएको गाउँ सभामा जानकारी गराइएको छ ।

रोजगारी र उद्यमशीलता विकासका लागि ‘मिसन रोजगारी, दिगो रोजगारी र उद्यमशीलता प्रवर्द्धन अभियान’ सञ्चालन गरिने तथा रोजगार रणनीति निर्माण गरिने उल्लेख गरिएको छ।खानेपानी र खेलकुदका क्षेत्रमा भने अपेक्षाकृत रूपमा उपलब्धि हासिल गर्न नसकिएको अध्यक्ष यादवले बताए ।

गाउँपालिकाले आगामी असार १० गते आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। नीति तथा कार्यक्रमले कृषि, रोजगार, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमार्फत समृद्ध प्रतापपुर निर्माणको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?