© 2026
दोहा,कतार । विश्वकर्मा समाज कतारले “कलाकार सम्मान” कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । समाजले शुक्रवार गोर्खाली रेस्टुरेन्टको सभा हलमा “कलाकार सम्मान तथा सृजना प्रतिभा प्रस्तुति कार्यक्रम २०२६” सम्पन्न गरेको हो ।
कतारमा रहेका दलित तथा गैर दलित दाजुभाइ तथा दिदीबहिनी,नेपाली समुदायका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा कलाकार तथा पत्रकारहरूको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रममा समाजले आयोजना गरेका हरेक कार्यविधिमा कलाकारिताको क्षेत्रबाट योगदान पुर्याउँदै आएका कलाकारहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
“सृजना प्रतिभा प्रस्तुति समेत रहेको कार्यक्रममा थुप्रै वक्ताहरूको शुभकामना मन्तव्य समेत रहेको थियो । वक्ताहरूले यस्ता कार्यक्रमले नेपाली कला, संस्कृति र प्रतिभाको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह समेत गरेका थिए ।
परियार मित्रता समाजका प्रमुख संरक्षक तथा समाजसेवी ठाकुर कुमार परियारले आफ्नो मन्तव्य व्यक्त गर्दै सबै भन्दा पहिले हामी को हौ,हामी कहाँ छौँ भन्ने कुरालाई गम्भीरतापूर्वक मनन गर्न आग्रह गरे।
उनले आफ्ना हक हित र अधिकार मात्र खोज्ने तर आफ्ना आनीबानी र व्यवहार न सुधार्ने जो कोहीले पनि आत्ममुल्यांकन गर्न जरुरी रहेको बताउँदै जातीय सद्भाव र सामाजिक एकताको महत्वमाथि जोड दिँदै सामाजिक सञ्जाल मार्फत अन्य जातजाति तथा समुदायप्रति अपमानजनक शब्द प्रयोग नगर्न र गालीगलौज नगर्न सबैलाई आग्रह गरे।
परियारले कुनै समय दोहामा कलाकार र पत्रकारहरूको उपभोग मात्र गर्ने तर उनीहरूलाई उचित पारिश्रमिक नदिने कुनै समय थियो,कलाकार र पत्रकारहरूलाई उचित पारिश्रमिक दिनु पर्छ भन्ने आवाज आफूले हर कदम उठाउँदै आएको र कलाकार र पत्रकारहरूको श्रम र योगदानको सम्मान गर्नुपर्ने समेत बताए।
कलाकार सम्मान कार्यक्रममा विभिन्न विधाका कलाकारहरूले गायन तथा नृत्य विधामा उत्कृष्ट प्रस्तुति समेत दिएका थिए।सञ्चार माध्यमबाट सहयोग पुर्याउँदै आएका पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो ।
दलित एकता सञ्जाल कतारका अध्यक्ष प्रकाश विश्वकर्माले आफ्नो मन्तव्य व्यक्त गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सबै भन्दा पहिले दलितहरू नै एकता हुनु पर्ने बताए । उनले एकतामा बल हुने र एकताले नै हाम्रा हक र अधिकारको माग पुरा गर्न सहज हुने समेत उल्लेख गरे ।
कलाकार सम्मान कार्यक्रममा बोल्दै विकले सुखका बेलामा मनोरञ्जन र सांस्कृतिक भएता पनि भोली दुख र अप्ठ्यारोमा आफ्नो समुदाय र समाज आवश्यकता पर्ने हुँदा हामी सबैको घर भनेकै विश्वकर्मा समाज कतार हो,तसर्थ समाजमा जोडिन सबैलाई आग्रह समेत गरे ।
विश्वकर्मा समाजका अध्यक्ष दीपक विश्वकर्माले कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासको व्यस्त जीवन सँगै कला र संस्कृतिको निमित्त योगदान पुर्याउँदै आएका कलाकारहरूलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे ।
विश्वकर्माले सम्मानित भएका सबै कलाकारहरूलाई हार्दिक बधाई दिँदै आगामी दिनमा थप सफलता हासिल गर्न कामना गरे । कलाकारहरू भनेका राष्ट्रका गहना हुन,हाम्रा गहनाहरूलाई सम्मान गर्नु हामी सबैको दायित्व रहेको समेत उनको भनाई रहेको थियो ।