Butwal Today

पहाडमा फल्यो, सहरमा बिक्यो

४ असार २०८३, बिहीबार
अ+
अ-

सल्यान । नेपालकै प्रमुख बेमौसमी तरकारी उत्पादन क्षेत्रका रूपमा परिचित सल्यानको कपुरकोटमा यस वर्षको दुई तरकारी हाटबजारमा ३३ लाख रुपैयाँको तरकारी बिक्री भएको छ ।

तरकारी हाटबजार सुरु भएको पहिलो दुई कारोबारमै किसानहरूले झन्डै ३३ लाख रुपैयाँ बराबरको तरकारी बिक्री गरेको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ । जेठ २९ गते शुक्रबार सञ्चालन भएको पहिलो हाटबजारमा २१ हजार ३०५ किलो विभिन्न प्रकारका तरकारी बिक्री हुँदा ९ लाख २९ हजार ७१२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यसै गरी दोस्रो हाटबजार असार २ गते सम्पन्न हुँदा ६५ हजार ५०७ किलो तरकारी बिक्री भई २३ लाख ६८ हजार ३८२ रुपैयाँ किसानको हातमा पुगेको छ ।

दुई दिनको कारोबारबाट ८६ हजार ८१२ किलो तरकारी बिक्री भएको छ भने ३२ लाख ९८ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको कृषि उपज बजार केन्द्रका बजार प्रतिनिधि चन्द्रमणी खड्काले जानकारी दिए ।

मंगलबारको बजारमा किसानहरूले टमाटर प्रतिकिलो ४० देखि ४५ रुपैयाँ, बन्दागोभी १८ देखि २०, फुलगोभी ५० देखि ६०, खुर्सानी ८० देखि ९०, सिमि ४० देखि ५०, लोकल कांक्रा ३० तथा उन्नत कांक्रा २० देखि २५ रुपैयाँ सम्ममा बिक्री गरेको बजार केन्द्रले जनाएको छ ।

अब उत्पादन क्रमशः बढ्दै जाने भएकाले आगामी साता बजारमा आउने तरकारीको परिमाण अझै वृद्धि हुने अपेक्षा गरिएको छ । कपुरकोट क्षेत्रमा उत्पादित बेमौसमी तरकारीको मुख्य बजार दाङ, बुटवल, भैरहवा, नेपालगञ्ज, पोखरा, कैलाली र धनगढीलगायतका सहरहरू हुन् । ती क्षेत्रका व्यापारीहरू प्रत्यक्ष रूपमा कपुरकोट पुगेर तरकारी खरिद गर्ने गरेका छन् ।

तराई तथा सहरी क्षेत्रमा अत्यधिक गर्मी र वर्षाका कारण स्थानीय उत्पादन घट्ने समयमा सल्यानका पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीको माग उच्च रहने गरेको छ । यही कारण कपुरकोटलाई बेमौसमी तरकारी उत्पादनको महत्त्वपूर्ण केन्द्रका रूपमा चिनिन्छ ।

कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलकराज शर्माका अनुसार जेठदेखि मंसिरसम्मको अवधि यहाँका किसानका लागि वार्षिक आम्दानीको सबैभन्दा महत्त्वपूर्ण समय हो ।

अधिकांश किसानले यही अवधिमा बिक्री हुने तरकारीबाट वर्षभरको मुख्य आम्दानी गर्ने गरेका छन् । २०४७ सालदेखि व्यावसायिक तरकारी खेतीको अभ्यास सुरु भएको कपुरकोट क्षेत्रमा हाल करिब तीन हजार घरधुरी किसान प्रत्यक्ष रूपमा तरकारी उत्पादनमा संलग्न छन् ।

पछिल्ला वर्षहरूमा युवा तथा महिलाको सहभागिता पनि बढ्दै गएको छ । कपुरकोटसँगै जिल्लाका त्रिवेणी, छत्रेश्वरी, शारदा, सिद्धकुमाख लगायत स्थानीय तहमा समेत व्यावसायिक तरकारी खेती विस्तार हुँदै गएको छ ।

यस वर्ष तरकारीको ब्याड राख्ने र बिरुवा रोप्ने समयमा परेको अविरल वर्षा तथा असिनापानीका कारण किसानले क्षति बेहोर्नुपरे पनि उत्पादन बजारमा आउन थालेपछि किसानहरू उत्साहित बनेका छन् । कतिपय किसानले पुनः ब्याड राख्नुपरेको थियो भने असिनाले क्षति पु¥याएका बिरुवा हटाएर पुनः रोप्नुपरेको थियो ।

सल्यानका किसानहरूले गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानी, आलु, काँक्रो, स्कुस, मूला, गाजर, भान्टा, हरियो केराउ र विभिन्न प्रकारका सागसब्जी उत्पादन गर्दै आएका छन् ।

गत वर्ष मात्रै कपुरकोटबाट ३० करोड ५१ लाख २२ हजार ७२५ रुपियाँ बराबरको ताजा तरकारी तथा फलफूल बाहिरिएको थियो । गत वर्ष जेठ अन्तिम सातादेखि मंसिरसम्मको अवधिमा ७८ लाख ५९ हजार ९३६ किलो तरकारी तथा फलफूल बिक्री भएको बजार केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?