© 2026
बुटवल । राष्ट्रिय युवा परिषदको आयोजना, बुटवल उपमहानगरपालिकाको समन्वय तथा बुटवल उद्योग वाणिज्य संघको सहकार्यमा लुम्बिनी प्रदेशस्तरीय सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी मंगलबार बुटवलमा सम्पन्न भएको छ।
बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजित प्रदर्शनीमा १५ जना युवा उद्यमीले आफ्ना उत्पादन तथा सेवासहितका स्टल प्रदर्शन गरेका थिए। युवाले सञ्चालन गरेका नवप्रवर्तनात्मक व्यवसाय तथा सूचना प्रविधिमा आधारित उद्यमहरूको प्रवर्द्धन, बजारीकरण तथा उद्यमशीलताको विकासमा टेवा पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको राष्ट्रिय युवा परिषदले जनाएको छ।
कार्यक्रममा उत्कृष्ट उद्यमीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। प्रथम हुने हसिला वलीको ‘दिदीबहिनी अल्लो उद्योग’ लाई ४० हजार रुपैयाँ, द्वितीय भएका प्रदीप चौधरीको ‘प्रदीप पेन्टिङ वर्ल्ड’ लाई ३० हजार रुपैयाँ तथा तृतीय स्थान हासिल गरेकी लक्ष्मी अधिकारीको ‘श्रीकृष्ण एकीकृत मौरी तथा कृषि फर्म’ लाई २० हजार रुपैयाँ प्रदान गरिएको छ। चौथो स्थान प्राप्त गर्ने प्रथम गुरुङको ‘डोल्स्यु घरेलु ढाका उद्योग’ तथा पाँचौँ स्थान हासिल गर्ने मोहम्मद रहिद शेखको ‘मलाङकोट इनोभेटिभ प्रालि’ लाई १०–१० हजार रुपैयाँ प्रोत्साहनस्वरूप प्रदान गरिएको थियो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले युवा उद्यमीहरूको संरक्षण, प्रवर्द्धन र क्षमता विकासका लागि बुटवल उपमहानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले युवालाई स्वरोजगार तथा उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले हालसम्म २१ वटा उद्यमशीलता तथा सीपमूलक तालिम सञ्चालन गरिसकेको जानकारी दिए। ती तालिमबाट युवाले विभिन्न व्यवसायिक सीप हासिल गरी उद्यम सञ्चालन गरिरहेको उनको भनाइ थियो।
नगर प्रमुख पाण्डेले बुटवलमा उत्पादन भएका दक्ष तथा प्रतिभाशाली युवालाई दीर्घकालीन रूपमा संरक्षण गर्न पर्याप्त स्रोतसाधन, लगानी तथा बजार व्यवस्थापनको अभाव चुनौतीका रूपमा रहेको उल्लेख गरे। “हामीले युवालाई सीप त दिएका छौं, तर उनीहरूले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण, लगानीको पहुँच र व्यवसाय विस्तारका लागि अझै थप सहयोग आवश्यक छ,” उनले भने। उनले स्थानीय सरकार, निजी क्षेत्र तथा सरोकारवाला निकायबीचको सहकार्यबाट मात्र युवा उद्यमशीलताको दिगो विकास सम्भव हुने बताउँदै स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धनमा सबैले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। स्वदेशमै अवसर सिर्जना गर्न सके युवाको विदेश पलायन न्यूनीकरण हुने र स्थानीय अर्थतन्त्रलाई समेत बल पुग्ने उनको धारणा थियो।
राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले परिषदको वार्षिक कार्यक्रमअन्तर्गत सातै प्रदेशमा यस्ता प्रदर्शनी आयोजना गर्दै युवा उद्यमीहरूलाई नेटवर्किङमार्फत जोड्ने प्रयास भइरहेको बताए। उनका अनुसार २५ वटा आवेदनमध्ये छनोट भएका १५ जना उद्यमीलाई प्रदर्शनीमा सहभागी गराइएको हो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले स्टार्टअप तथा नवप्रवर्तनको विकासका सरकार गम्भिर हुनुपर्ने बताए । उनले भने युवाको सिपलाई स्वदेशमै प्रयोग गर्ने योजना सरकारले ल्याउनु पर्छ । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले यस्ता प्रदर्शनीले युवा उद्यमीलाई आफ्नो उत्पादन र सेवा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै बजार, लगानीकर्ता, उपभोक्ता तथा विभिन्न सरोकारवाला निकायसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। साथै, नवप्रवर्तन र स्टार्टअप संस्कृतिको विकासमार्फत रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा समग्र मुलुकको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।
प्रदर्शनीमा सहभागी उत्कृष्ट उद्यमीहरूलाई आगामी दिनमा केन्द्रस्तरमा आयोजना हुने स्टार्टअप व्यवसाय प्रदर्शनीमा सहभागी गराइने राष्ट्रिय युवा परिषदले जनाएको छ।