Butwal Today

१२औँ चुरे संरक्षण दिवस : दाउन्नेदेवी सामुदायिक वनमा झन्डै २० हजार बिरुवा रोपण प्रारम्भ

२ असार २०८३, मंगलवार
अ+
अ-

बर्दघाट, नवलपरासी । १२औँ चुरे संरक्षण दिवसको अवसरमा पश्चिम नवलपरासीको दाउन्नेदेवी सामुदायिक वन क्षेत्रमा वृक्षारोपण अभियान सञ्चालन गरिएको छ।

चुरे क्षेत्रको संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित करिब १५ हेक्टर क्षेत्रफलमा झन्डै २० हजार बिरुवा रोपण गर्ने उद्देश्य सहित आज बाट वृक्षारोपणको शुभारम्भ गरिएको हो ।

कार्यक्रमअन्तर्गत प्रतिहेक्टर औसत १ हजार ६ सयका दरले हर्रो, बर्रो, अमला, बेल लगायतका आयुर्वेदिक तथा औषधिजन्य बिरुवासँगै वर–पिपल जस्ता धार्मिक तथा वातावरणीय महत्वका प्रजातिहरू रोपिएको हो ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले वृक्षारोपण मात्र गरेर नपुग्ने भन्दै रोपिएका बिरुवाको संरक्षण र संवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताए। उनले चुरे क्षेत्रको संरक्षणले वातावरण, जलस्रोत तथा भावी पुस्ताको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव गणेश पौडेलले हरेक वर्ष असार २ गते चुरे संरक्षण दिवस मनाउँदै आइएको स्मरण गराउँदै देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन हुने गरेको बताए।

उनले चुरे–भावर क्षेत्रलाई तराई–मधेसको “लाइफलाइन” को संज्ञा दिँदै यस क्षेत्रको संरक्षण बिना तराई–मधेसको जलस्रोत, कृषि उत्पादन तथा वातावरणीय सन्तुलन जोगाउन कठिन हुने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली सेना बुटवलका पृतनापति हिम्मत बहादुर बिष्टले चुरे संरक्षण राष्ट्रिय अभियान भएको उल्लेख गर्दै प्राकृतिक सम्पदाको संरक्षणमा नेपाली सेना सदैव प्रतिबद्ध रहेको बताए।

उनले वृक्षारोपणलाई अभियानका रूपमा अगाडि बढाउन र रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणमा सबैको साझा जिम्मेवारी रहने धारणा व्यक्त गरे ।

लुम्बिनी प्रदेशका वन महानिर्देशक इश्वरी प्रसाद पौडेलले चुरे क्षेत्र नेपालको पर्यावरणीय सुरक्षा कवच भएको बताउँदै वन संरक्षण, भू–क्षय नियन्त्रण, जलाधार संरक्षण तथा जैविक विविधता जोगाउन वृक्षारोपण प्रभावकारी माध्यम भएको उल्लेख गरे।

उनले सरकारी निकाय, स्थानीय तह, सामुदायिक वन र नागरिक समाजबिचको सहकार्यले मात्र चुरे संरक्षण अभियान सफल हुने बताए।

चुरे संरक्षण दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, वनकर्मी, सामुदायिक वन उपभोक्ता तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

सहभागीहरूले चुरे क्षेत्रको दीर्घकालीन संरक्षणका लागि वृक्षारोपणसँगै संरक्षण र व्यवस्थापनका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?