Butwal Today

सांसद सृष्टि भट्टराईको स्पष्टीकरण :भविष्यमा दोहोरिँदैन

२ असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे स्पष्टीकरण दिएकी छन्। गुडिरहेको गाडीको झ्यालबाट शरीर बाहिर निकालेर रमाइलो गरिरहेको देखिने भिडियो सार्वजनिक भएपछि चौतर्फी चर्चा र आलोचना भएको थियो। त्यसपछि भट्टराईले सामाजिक सञ्जालमार्फत उक्त भिडियो आफ्नो वर्तमान सांसद पद वा कुनै सरकारी जिम्मेवारी सम्हाल्नुअघि कैद गरिएको निजी क्षण भएको बताएकी हुन्।

उनले भिडियो खिचिएको समयमा आफू चालक नभई यात्रुको रूपमा रहेको र त्यो सामान्य व्यक्तिगत क्षण रहेको उल्लेख गरेकी छन्। साथै सार्वजनिक पदमा रहे पनि व्यक्तिको निजी जीवन र व्यक्तिगत स्वतन्त्रता रहने तर्कसमेत गरेकी छन्। तर उनले भिडियोमा देखिएको गतिविधि सडक सुरक्षा र ट्राफिक नियमको दृष्टिकोणले उपयुक्त नदेखिन सक्ने स्वीकार गरेकी छन्। उमेर र उत्साहका कारण विगतमा त्यस्तो व्यवहार भएको हुन सक्ने भन्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

भट्टराईले एउटा छोटो र पुरानो भिडियोका आधारमा आफ्नो सम्पूर्ण चरित्र, जिम्मेवारीबोध वा कार्यक्षमताको मूल्याङ्कन नगर्न आग्रह गरेकी छन्। उनका अनुसार व्यक्तिको मूल्याङ्कन उसले निर्वाह गरेको जिम्मेवारी, काम र योगदानका आधारमा हुनुपर्छ। यद्यपि उनको स्पष्टीकरणपछि पनि सामाजिक सञ्जालमा बहस पूर्ण रूपमा साम्य भएको छैन। धेरै प्रयोगकर्ताले सार्वजनिक व्यक्तित्वबाट सडक सुरक्षाबारे थप जिम्मेवार व्यवहार हुनुपर्ने बताउदै आलोचना भने कायमै नै छ । कतिपयले गल्ती स्वीकार गरेर भविष्यमा नदोहोर्‍याउने प्रतिबद्धता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् भने केहीले सार्वजनिक व्यक्तित्व भएकाले निजी र सार्वजनिक व्यवहारबीचको सीमाबारे अझ बढी संवेदनशील हुनुपर्ने टिप्पणी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?