Butwal Today

आगामी आर्थिक वर्षको बजेट पेस गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति

१ असार २०८३, सोमबार
अ+
अ-

लमही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ र ०८४ को बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेका प्रस्तावहरू मन्त्रिपरिषद्बाट स्वीकृत भएको जानकारी दिए। उनका अनुसार प्रदेश सरकारले संवैधानिक व्यवस्था अनुसार असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ । बजेट प्रस्तुत गर्नका लागि सोमवार बेलुका ५ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३।०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति दिएको छ ।

त्यसै गरी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक र आगामी आर्थिक वर्षको बजेट वक्तव्यसहितको राजस्व तथा व्ययको अनुमान प्रदेश सभामा पेस गर्न पनि स्वीकृति प्रदान गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा प्रदेश गौरवका आयोजना, बहु वर्षीय तथा क्रमागत योजनाको निरन्तरता, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२।०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको बजेटको आकार, स्रोत व्यवस्थापन तथा प्राथमिकताका क्षेत्रबारे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?