Butwal Today

गुल्मी सेवा समाज कतारको २३ औँ वार्षिक भेला भव्यताका साथ सम्पन्न

३१ जेष्ठ २०८३, आइतबार
अ+
अ-

दोहा, कतार । कतारमा रहेका गुल्मेलीहरूको साझा सामाजिक संस्था गुल्मी सेवा समाज कतारले आफ्नो वार्षिक भेला कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। समाजले एक कार्यक्रमका बिच २३ औँ वार्षिक भेला कार्यक्रम २०२६ सम्पन्न गरेको हो ।

कतारमा रहेका गुल्मेली तथा गैरगुल्मेलीहरुको उल्लेखनीय सहभागिता रहेको वार्षिक भेलामा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको मातहतमा रहेका जिल्ला संस्थाहरूको समेत उपस्थिति रहेको थियो ।

वार्षिक भेलालाई सम्बोधन गर्दै वक्ताहरूले गुल्मी सेवा समाज कतारले स्थापना कालदेखि नै कतारमा रहेका नेपाली श्रमिक विशेष गरी गुल्मेली समुदायको सुख दुःखमा साथ दिँदै आएको उल्लेख गरेका थिए ।

साथै गृह जिल्ला गुल्मीमा संस्थाले चलाएको छात्रवृत्ति अभियानको बारेमा  आर्थिक अभावमा रहेका परिवारलाई सहयोगको बारेमा समेत खुलेर प्रशंसा गरेका थिए ।

समाजले एक वर्षमा गरेका उत्कृष्ट कार्यसम्पादनको प्रतिवेदन समाजका सचिव कुमार राहाडी मगरले भेलामा पेस गरेका थिए ।

लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष साजन लौडारीले विदेशमा रहेर पनि आफ्नो जन्म भूमिप्रतिको दायित्व निर्वाह गर्दै आएको गुल्मी सेवा समाज कतारले सञ्चालनमा ल्याएको  सामाजिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिन आग्रह गरे ।

उनले समाजले कतार र गृह जिल्ला गुल्मी बिच सामाजिक सम्बन्धको रूपमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ व्यापक सामाजिक अभियान सञ्चालन गर्न सुझाव समेत दिएका थिए ।

गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक बुद्ध पाण्डेयले आफ्नो मन्तव्य व्यक्त गर्दै समाजले गृह जिल्ला गुल्मीमा विगत लामो समयदेखि सञ्चालन गर्दै आएको छात्रवृत्ति अभियान कोरोना महामारीपछि उक्त अभियानलाई निरन्तरता दिन नसकिएकोमा दुःख व्यक्त गरे ।

पान्डेयले समाजले अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेको बताउँदै कतारमा रहेका सम्पूर्ण गुल्मेली तथा गैर गुल्मेली दाजुभाइ  तथा दिदीबहिनीहरूलाई उक्त कोषमा आबद्ध भई सहयोग गर्न आग्रह गरे ।

समाजका अध्यक्ष मित्र बिएसले वार्षिक  भेलालाई सम्बोधन गर्दै समाजले प्रवासमा रहेर पनि मातृभूमिको विकास र समाजसेवामा निरन्तर योगदान दिँदै आएको संस्था भएको उल्लेख गर्दै आगामी दिनमा पनि कतार तथा गृह जिल्ला गुल्मीमा भई परि आउने समस्याहरूमा सहयोगका लागी संस्थाको महत्त्वपूर्ण भूमिका रहनुका साथै सामाजिक अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कतारमा रहेका नेपाली श्रमिकहरूलाई आइपरेका समस्याहरूमा तथा आपत्कालीन राहत तथा अन्य सङ्घ संस्थाहरूले सञ्चालन गरेका सामाजिक कार्यमा गुल्मी सेवा समाज कतार सदैव हातेमालो गर्न तयार रहेको बिएसको भनाई रहेको थियो ।

गुल्मी सेवा समाज कतारले विगत लामो समय देखि कतारमा पनि विभिन्न सामाजिक तथा मानवीय गतिविधि सञ्चालन गर्दै आएको छ। गुल्मी सेवा समाज सन २००३ मा कतारमा स्थापित सामाजिक संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?