Butwal Today

बर्दघाटको नीति :विपन्नको निःशुल्क स्वास्थ्य बिमा सँगै क्यान्सर बिरामीलाई यातायात सुविधा 

२८ जेष्ठ २०८३, बिहीबार
अ+
अ-
बर्दघाट, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अति विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको छ।
नगर सभाको १८औँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाले अति विपन्न नागरिकलाई लक्षित गर्दै यस्तो व्यवस्था गर्न लागेको जनाएको हो।
नगर प्रमुख शम्भुलाल श्रेष्ठद्वारा प्रस्तुत  नीति तथा कार्यक्रममा “अति विपन्न नागरिक स्वास्थ्य बिमा कोष” स्थापना गरी निश्चित मापदण्डका आधारमा पहिचान गरिएका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराइने उल्लेख गरिएको छ।
स्वास्थ्य क्षेत्रमा नागरिकमैत्री कार्यक्रमलाई प्राथमिकता दिएको नगरपालिकाले हाल सञ्चालनमा रहेको मुटु रोगीका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालसम्म निःशुल्क आवतजावत सुविधा लाई निरन्तरता दिने जनाएको छ  ।
 साथै आगामी आर्थिक वर्षदेखि क्यान्सर रोगबाट पीडित बिरामीहरूलाई समेत उपचारका लागि आवतजावतमा सहयोग गर्ने व्यवस्था गरिने नीति लिइएको जनाइएको छ ।
त्यसै गरी नगरपालिकाले स्थानीय स्तरमै वैकल्पिक उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयुर्वेदिक अस्पताल स्थापना का लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नगरपालिकाले स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र समावेशी बनाउने लक्ष्यसहित विपन्न तथा दीर्घ रोगी नागरिकलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ।
यी कार्यक्रम कार्यान्वयनमा आएसँगै आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?