© 2026
कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ ।
आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुम्वासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित वडाले लिवर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमा ४४ परिवारको निःशुल्क जीवन बिमा गरिदिएको हो ।
दैनिक जीविकोपार्जनमै सङ्घर्ष गरिरहेका परिवारलाई आकस्मिक दुर्घटना, बिरामी वा मृत्युजस्ता जोखिमबाट हुने आर्थिक क्षति कम गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
विशेष गरी वडाभित्र अस्थायी रूपमा बसोबास गर्ने सुकुम्वासी तथा न्यून आय भएका परिवारलाई लक्षित गरी बिमा सुविधा उपलब्ध गराइएको हो ।
वडाध्यक्ष सन्तोष बास्तोलाले सामाजिक सुरक्षाको पहुँच सबै नागरिकसम्म पुर्याउने अभियानअन्तर्गत उक्त कार्यक्रम ल्याइएको बताए । “दुर्घटना वा अन्य अप्रत्याशित घटनाले विपन्न परिवारलाई झन् ठुलो समस्यामा पार्ने गर्दछ । त्यस्ता परिवारलाई न्यूनतम आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले जीवन बिमा कार्यक्रम सञ्चालन गरेका हौँ”, उनले भने ।
म्यादी जीवन बिमा कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति वार्षिक रु २५० बिमा शुल्कमा रु एक लाखसम्म उपचार सुविधा र बीमित व्यक्तिको मृत्यु भएमा परिवारले रु एक लाख ५० हजारसम्म राहत रकम प्राप्त गर्ने व्यवस्था गरिएको छ । वडा कार्यालयले यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ५० हजार बजेट विनियोजन गरेको थियो ।
न्यून शुल्कमा उपलब्ध हुने यो सुविधाले आर्थिक रूपमा कमजोर परिवारलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको वडा सदस्य शान्ति कोइरालाले बताइन । वडाले बिमा कार्यक्रमसँगै लक्षित समुदायलाई जीवन बिमाको आवश्यकता, प्रक्रिया र लाभबारे सचेतना कार्यक्रमसमेत सञ्चालन गरेको छ ।
सहभागीलाई बिमाले आकस्मिक जोखिम व्यवस्थापन, परिवारको भविष्य सुरक्षा तथा आर्थिक स्थायित्व कायम गर्न सहयोग पुर्याउने विषयमा जानकारी दिइएको थियो ।
बिमा सेवाबाट वञ्चित समुदायलाई सुरक्षा कवच प्रदान गर्ने भएकाले अन्य वडालाई यस्ता कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने विश्वास गरिएको वडाध्यक्ष बास्तोला बताउँछन् ।