© 2026
अर्घाखाँची । खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारा पानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घोरबन्दा युवा क्लब सितगंगाले जितेको छ ।
प्रतियोगिताको फाइनल खेलमा घोरबन्दा युवा क्लब सितगंगाले आयोजक महादेव फार्मेसी धारापानीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा दबाबपूर्ण खेल खेलेको सितगंगा टोलीले सुरुदेखि नै खेलमा वर्चस्व कायम राख्दै विजेता बनेको हो ।
घोरबन्दा युवा क्लब सितगंगाले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको आयोजक महादेव फार्मेसी धारापानीले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रमा प्राप्त गरेको छ ।
थ्री स्टार युवा क्लब भूमिकास्थान तृतीय हुँदै २० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने भगवती युवा क्लब सन्धिखर्कले प्रोत्साहन स्थान हासिल गर्दै १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।