Butwal Today

कपिलवस्तु क्रिकेट सङ्घमा पुनः गैरे 

२६ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

कपिलवस्तु । कपिलवस्तु क्रिकेट सङ्घको चौथो जिल्ला अधिवेशनले पुनः प्रकाश गैरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।

निर्वाचनमा अध्यक्ष पदमा हालका अध्यक्ष प्रकाश गैरे, उपाध्यक्षमा विश्वेन्द्र सिंह रावल, सचिव पदमा अजय शर्मा, कोषाध्यक्ष पदमा पदमराज श्रेष्ठ र सदस्यहरूमा दिनेश हमाल, राजेश प्रताप शाक्य, माया ज्ञवाली, चन्द्रकान्त शर्मा तथा ऋषीकेश श्रेष्ठ निर्विरोध भएको निर्वाचन समितिका संयोजक अधिवक्ता अमित कुमार श्री वास्तवले जानकारी दिए ।

निर्विरोध निर्वाचित समितिलाई क्रिकेट सङ्घ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष बिनयराज भण्डारी, निवर्तमान केन्द्रीय कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख तथा रुपन्देहीकी सदस्य उमा अधिकारीको उपस्थितिमा निर्वाचन संयोजक श्री वास्तवले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

यस अघि नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेट सहितको खेलको विकासका लागी खेल पूर्वाधारमा लगानी गर्नु पर्नेमा जोड् दिए । कपिलवस्तु क्रिकेट सङ्घको तौलिहवामा आयोजित वार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेल पूर्वाधार नभई खेलाडीलाई टिकाउन नसकिने बताए ।

“खेल पूर्वाधार नभई खेलाडी टिक्दैनन्, त्यसैले खेल पूर्वाधार निर्माणलाई प्राथमिकता दिनु पर्छ ।” अध्यक्ष चन्दले भने । क्रिकेट सङ्घको ४५ जिल्लामा कार्य समिति रहे पनि सङ्घ मातहतको जग्गा नभएका कारण स्टेडियमहरू निर्माणमा अगुवाइ गर्न नसकिएको उनले बताए । नेपाली क्रिकेटको अन्तर राष्ट्रिय स्तरको लिङ्क राम्रो बनेको बताउँदै नेपाललाई टेष्ट खेल राष्ट्रमा समावेश गराउने गरि अगाडी बढिएको उनले स्पष्ट पारे ।

देशका लागि खेल्ने खेलाडीलाई रिटायरमेन्टका बेला निश्चित रकम पाउने सुनिश्चितताका लागी सरकारले नै बिमा कोषको व्यवस्था गर्न आवश्यक रहेको चन्दले बताए । क्रिकेट सहितका खेलको विकास र पूर्वाधार निर्माणमा वैदेशिक लगानीका लागी नीतिगत सहजताको आवश्यकता रहेकोमा उनले जोड दिए ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १२ बेलभरियामा क्रिकेट खेलको स्टेडियम निर्माणका लागी उपयुक्त जग्गा भएको कपिलवस्तु क्रिकेट सङ्घका अध्यक्ष प्रकाश गैरेले बताए । कपिलवस्तुले विगतमा अन्तरराष्टियस्तरमै खेल्ने प्रतिभावान क्रिकेट खेलाडी उत्पादन गरेको स्मरण गराउँदै पछिल्लो समय जिल्लाबाट महिला क्रिकेटमा राष्ट्रियस्तरमा सहभागीता जनाउन टोली तयार पारिएको अध्यक्ष गैरेले जनाए ।

पछिल्लो समय क्रिकेट खेलले नेपाललाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराएको बताउँदै कपिलवस्तु नगरपालिकाले क्रिकेट खेल र खेलाडीलाई प्राथमिकता दिएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । कपिलवस्तु क्रिकेट सङ्घलाई स्टेडियम निर्माणका लागी आवश्यक पर्ने जग्गाको भोगाधिकार दिने विषयमा आफूहरू सकारात्मक रहेको उनले स्पष्ट पारे ।

कपिलवस्तु जिल्लाले अन्डर सिक्टिन लगायतका खेलमा रौनक श्रीवास्तव जस्ता प्रतिभावान खेलाडी उत्पादन गरेको र अहिले महिला टोली समेत तयार पारि क्रिकेट खेलमा अगाडी बढाएकोमा खुसी लागेको क्रिकेट सङ्घ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष बिनयराज भण्डारीले बताए । रुपन्देही क्रिकेट सङ्घका सदस्य तथा क्यानका  निवर्तमान केन्द्रीय कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले कपिलवस्तुमा क्रिकेट सङ्घको उत्कृष्ट कार्य रहेको बताए ।

खेल पूर्वाधार तयार पार्न सबैले भूमिका खेल्नु पर्नेमा मल्लले जोड् दिए । कार्यक्रममा कपिलवस्तु क्रिकेट सङ्घका कोषाध्यक्ष पदमराज श्रेष्ठ र जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका कार्यालय प्रमुख मिन प्रसाद पोख्रेल, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष खग प्रसाद चापागाई लगायतले कपिलवस्तु क्रिकेट सङ्घले जिल्लामा क्रिकेट खेल र खेलाडीका लागी नमुनायोग्य कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

सो अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल सहित विभिन्न वडाका वडा अध्यक्षहरूलाई कपिलवस्तु क्रिकेट सङ्घले आयोजना गर्दै आएको स्मृति कपमा सहयोग गरेकोमा सम्मान पत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?