Butwal Today

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

बुनिया (कङ्गो)  । पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमा कम्तीमा १०० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो तथ्याङ्कले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको सङ्केत गरे पनि वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने आशङ्का गरिएको छ ।

स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म ५५० जना सङ्क्रमित पुष्टि भएका छन् । तीमध्ये १०१ जनाको मृत्यु भइसकेको र १९ जना निको भएका छन् । यो विवरण सोमबार सार्वजनिक पछिल्लो अवस्था प्रतिवेदनमा उल्लेख गरिएको हो ।

यसअघि प्रकोप घोषणा भएको केही हप्तामै सङ्क्रमण फैलिन थाले पनि औपचारिक पुष्टि ढिलो भएको अधिकारीहरूको भनाइ छ । त्यही कारण रोग नियन्त्रण र रोकथामका प्रयासहरू थप जटिल बनेका छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाबाट आक्रोशित प्रतिक्रिया, स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना तथा सशस्त्र समूहको सक्रियताले नियन्त्रण अभियानलाई गम्भीर चुनौती दिएको छ । धेरै क्षेत्रमा विश्वासको कमीका कारण परीक्षण, उपचार र सम्पर्क ट्रेसिङ कार्य प्रभावित भएको छ ।

विशेषज्ञहरूले सङ्क्रमणको वास्तविक सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा धेरै बढी हुन सक्ने चेतावनी दिएका छन् । प्रभावित क्षेत्रमा समयमै पहिचान नहुनु र सुरक्षा अवस्थाका कारण स्वास्थ्य सेवा पहुँच सीमित भएकाले अवस्था नियन्त्रणबाहिर जान सक्ने जोखिम बढेको बताइएको छ ।

यो पछिल्लो प्रकोप दुर्लभ बुन्डिबुग्यो प्रकारको इबोला भाइरसका कारण भएको हो । यो प्रकारको भाइरस कङ्गोमा पहिले देखिने जाइर प्रकारभन्दा फरक हो । जाइर प्रकारका लागि खोप र उपचार उपलब्ध रहेको छ ।

तर बुन्डिबुग्यो प्रकारका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशेष उपचार उपलब्ध नभएकाले रोकथाम र नियन्त्रण कार्य अझै कठिन बनेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

विश्लेषकहरूका अनुसार लामो समयदेखि सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य पूर्वाधार र जनविश्वासको कमीका कारण कङ्गोमा इबोला नियन्त्रण अभियान पटक–पटक चुनौतीमा पर्ने गरेको छ । यसपटक पनि त्यही अवस्थाले महामारी नियन्त्रण प्रयासलाई गम्भीर रूपमा प्रभावित गरेको देखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?