Butwal Today

रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात

२५ जेष्ठ २०८३, सोमबार
अ+
अ-

रसुवा ।  नेपाल र चीनबिच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा रु ४० अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ ।

रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म यस नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन् ।

यस नाकाबाट खास गरी सामग्रीमा तयारी पोसाक, जुत्ता–चप्पल, रोलकपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा, थर्मस, हाइड्रोपावरका उपकरण तथा विद्युतीय सवारीसाधनलगायत वस्तु आयात हुँदै आएको उनले जानकारी दिए ।

रसुवागढी नाका प्राचीनकालदेखि नै नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबिचको व्यापारिक मार्गका रूपमा परिचित रहँदै आएको छ । लिच्छवी तथा मल्लकालदेखि नै व्यापारीले यही मार्ग प्रयोग गरी नुन, ऊन, जडीबुटी तथा अन्य सामग्रीको कारोबार गर्ने गरेको इतिहास छ । आधुनिक सडक सञ्जाल विस्तारसँगै रसुवागढी नाका अन्तर्राष्ट्रिय व्यापारको महत्त्वपूर्ण केन्द्र बनेको हो ।

भन्सार कार्यालयका अनुसार यस अवधिमा नेपालबाट भने करिब रु ९० करोड मूल्य बराबरका वस्तु निर्यात भएको छ ।

उक्त  नाकाबाट हुने आयात तथा निर्यातबाट चालु आर्थिक वर्षको हालसम्म रु १० अर्ब ८० करोड राजस्व सङ्कलन भएको निमित्त प्रमुख विकले जानकारी दिए ।

यसैबिच पछिल्लो समय विद्युतीय सवारीसाधनको जाँच पासका सम्बन्धमा उठेका प्रश्नबारे निमित्त प्रमुख विक भन्छन्, “प्रचलित भन्सार ऐन तथा नियमावलीले पैठारीकर्तालाई अग्रिम रूपमा राजस्व बुझाउने सुविधा दिएको छ ।”

उनले तोकिएको प्रक्रियाअनुसार राजस्व सङ्कलन भएकाले राज्यलाई कुनै आर्थिक हानि–नोक्सानी नभएको स्पष्ट पारे । रसुवागढी  नाकाले मुलुकको राजस्व वृद्धि, व्यापार विस्तार तथा आर्थिक गतिविधि प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?