Butwal Today

बुटवल सडक महोत्सवको सन्देश 

२५ जेष्ठ २०८३, सोमबार
अ+
अ-

बुटवल उपमहानगरपालिकाको आयोजनामा अमरपथमा तीनदिने सडक महोत्सव अभूतपूर्व रूपमा सफल भएको छ । यसले बुटवल बजारको अवसर र सम्भावनालाई एकसाथ उजागर गरेको छ ।

प्रचार विनाको कार्यक्रममा हजारौँको उत्साहजनक सहभागिता हुनुले बुटवलको पर्यटन व्यवसाय थोरै सहयोग गरेकै अवस्थामा फस्टाउन सक्छ भन्ने यो महोत्सवले सन्देश दिएको छ । केही वर्ष आर्थिक मन्दीका कारण बुटवलको मुख्य बजार थला परेको थियो ।

अव पर्यटनलाई जोडेर बुटवलको मुख्य बजारलाई चलायमान बनाउन सकिन्छ भन्ने दर्शकको बढ्दो उपस्थितिले प्रमाणित गरेको छ । तिन दिने सडक महोत्सव आयोजना गरेर बुटवल उपमहानगरले बुटवलको बजार मात्रै होइन, कला, संस्कृति संरक्षणमा समेत टेवा पु¥याएको छ ।

भोलिको दिनमा बुटवलको व्यापार व्यवसायदेखि पर्यटन क्षेत्रमा लगानी गर्न खोज्नेहरूका लागि यो एउटा प्रेरणाको मार्ग हो भन्दा अत्युक्ति हुँदैन । कुनै पनि कार्यक्रम आयोजना गर्दा दर्शकको उपस्थिति मुख्य चुनौतीको कुरा बन्दै गएको छ तर बुटवलको अमरपथमा आयोजित सडक महोत्सवले पाएको अपार दर्शकले स्थानीय बुटवलका व्यवसायीलाई उत्प्रेरित गरेको छ ।

यस प्रकारका सडक महोत्सव भोलिको दिनमा पनि आयोजना गर्ने र बुटवलको बजारलाई गुल्जार बनाउनेतर्फ महोत्सव आयोजकलाई पनि उत्साह दिएको छ । त्यसो त यसअघि पनि बुटवलको अमरपथ र कालिकापथमा रात्रीकालिन बजार सञ्चालन गर्न बुटवल उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले धेरै पहिलेदेखि प्रयास गर्दै आएको सर्वविदीतै छ ।

वुटवल त्यसैपनि पश्चिम नेपालको बाणिज्य केन्द्रको रूपमा विकास भैरहेको छ । बुटवल पश्चिम नेपालको मात्र नभै समग्र लुम्विनी प्रदेशको औद्योगिक र बाणिज्य केन्द्र हो । त्यसैले यसलाई आर्थिक राजधानी भनिँदा अस्वाभाविक लाग्दैन ।

बुटवल आर्थिक राजधानी बनिरहँदा यहाँको व्यापार व्यवसाय पनि त्यहीरूपमा विकसित र परिमार्जित हुनु जरुरी छ । त्यसमाथि बुटवलको अमरपथ बुटवलकै ब्यस्त बजार हो । यहाँ अव दिउँसोमात्र होइन यो पथलाई रात्रीकालीन बजारको रूपमा पनि स्थापित गर्न सकिए त्यसले बुटवलकै गरिमा बढाउने छ । तिन दिने सडक महोत्सवले त्यो संकेत पनि गरेको छ ।

यसबाट स्थानीय व्यापार व्यवसाय विस्तारमा ठूलो टेवा पुग्नेछ । यद्यपि उक्त क्षेत्रमा ट्राफिक व्यवस्थापनको भने चुनौति छ । जसका कारण अमरपथमा दिउँसोमा बजार गर्न आउनेकुरा गाह्रो हुन थालिसक्यो ।

ट्राफिक व्यवस्थापन गर्न सकियो भने अमरपथलाई अव रात्रीकालीन बजारको रूपमा पनि विकास गर्न सकिने निश्चित छ । बुटवल अब आर्थिक राजधानीका रूपमा सशक्तमात्र होइन पर्यटन क्षेत्रको प्रचुर संभावना बोकेको सहर समेत सावित हुनेछ । अर्कोतर्फ बुटवलको अमरपथदेखि कालिकानगर लगायतका क्षेत्रलाई रात्रीकालीन बजारको रूपमा विकास गर्ने हो भने बुटवल थप गुल्जार हुनेछ ।

बुटवलका व्यावसायिक संघ संस्थाहरूले रात्रीकालिन बजार कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा धेरै छलफल गरेका छन् । अव यसलाई मूर्त रूप दिनु जरुरी छ । वास्तवमा कोभिड–१९ को महामारी र त्यसपछिको आर्थिक मन्दीले थलापारेको बुटवलको व्यापार व्यवसायलाई माथि उठाउन रात्रीकालीन बजारले ठूलो अवसर दिने कुरा अमरपथको सडक महोत्सवले स्पष्ट गरेको छ ।

अमरपथमा जुटेको दर्शकको सहभागिताले बुटवल अव जनघनत्वको हिसावले पनि ठूलो सहर भैसकेको बुझ्न सकिन्छ । अव बुटवलको बजार विस्तार गर्दै यसलाई रात्रीकालीन बजारका रूपमा पनि स्थापित गर्न सकेको अवस्थामा बुटवल बजार देशकै ठूलो बजार हुनेछ ।

त्यसले बुटवलको गरिमा र प्रतिष्ठा बढ्नेछ । बुटवलको व्यापार व्यवसाय प्रवद्र्धन भए अनेक संभावनाको ढोका खुल्नेछ । धेरै रोजगारीको अवसर सिर्जना हुनेछ । मुलुक चलायमान बन्न नसकिरहेको बेला अमरपथको सडक महोत्सवले नयाँ सन्देश दिएको छ ।

त्यो भनेको बुटवल अव उठ्ने छ । बुटवल अनेकौं आशा र संभावनासहित जुर्मुराउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?