© 2026
बुटवल । बुटवल उपमहानगरपालिका–९, कालिकानगर संयुक्त पथमा बस्दै आएकी ३५ वर्षीया प्रतिमा थापा जेठ ५ गतेदेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ ।
बेपत्ता प्रतिमाका श्रीमान् प्रेम थापाले खोजी कार्यका लागि प्रहरीमा निवेदन दिएका छन् भने उनको अवस्थाबारे जानकारी भए सम्पर्क गरिदिन आग्रह गरेका छन् ।
पर्वत जिल्लाकी स्थायी बासिन्दा प्रतिमा थापा केही वर्षदेखि श्रीमान् र दुई नाबालक सन्तानसँग बुटवल–९ कालिकानगरस्थित संयुक्त पथमा बस्दै आएकी थिइन् । परिवारका अनुसार उनी जेठ ५ गते घरबाट निस्कने क्रममा आमालाई “म चामल लिएर आउँछु, तपाईँ बाबु–नानी लिएर आउनु” भनेर बाहिरिएकी थिइन् । त्यसयता उनी परिवारको सम्पर्कमा आएकी छैनन् ।
प्रतिमाका श्रीमान् प्रेम थापाले श्रीमती अचानक सम्पर्कविहीन भएपछि आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी गर्दा पनि कुनै जानकारी प्राप्त नभएको बताए । उनका अनुसार घरमा रहेको करिब पाँच तोला सुन तथा बैङ्कमा श्रीमतीकै नाममा रहेको बचत रकमसमेत उनीसँगै रहेको छ ।
“हामीले सुरुमा आफन्त र चिने जानेका ठाउँहरूमा खोजी ग¥यौं । कतै सम्पर्क हुन सकेन । अहिले साना छोराछोरी आमाको प्रतीक्षामा छन्,” प्रेम थापाले भने । उनले श्रीमतीको अवस्थाबारे कुनै जानकारी भए आफू वा प्रहरीलाई खबर गरिदिन सबैसँग आग्रह गरेका छन् ।
श्रीमान् थापाले घटनाबारे इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरमा निवेदन दिई खोजीका लागि अनुरोध गरेका छन् । उनका अनुसार परिवार अहिले अन्योल र चिन्ताको अवस्थामा रहेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्री वास्तवले पीडित परिवारबाट प्राप्त निवेदनका आधारमा अनुसन्धान तथा खोजी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
“परिवारले दिएको विवरणका आधारमा आवश्यक अनुसन्धान र खोजी कार्य भइरहेको छ,” उनले भने । परिवारका सदस्यहरूले प्रतिमा थापाको अवस्थाबारे कुनै जानकारी प्राप्त भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन सर्वसाधारणसँग अनुरोध गरेका छन् । घटनाले परिवारका सदस्य मात्र होइन, छिमेकी र आफन्तलाई समेत चिन्तित बनाएको छ । विशेष गरी दुई नाबालक सन्तान आमाको अभावमा भावनात्मक रूपमा प्रभावित भएको परिवारको भनाइ छ ।