Butwal Today

कैँचीले कोरेको भाग्य

२५ जेष्ठ २०८३, सोमबार
अ+
अ-

बुटवल । कुनै समय थियो, जब गाउँको गल्ली–गल्लीमा हातमा टिनको बाकस बोकेर दाह्री–कपाल काट्न हिँड्ने मानिसलाई समाजले खासै सम्मानको दृष्टिले हेर्दैनथ्यो । “नाइँ” भन्ने शब्दमै हेपाइ मिसिएको थियो ।

त्यो पेसामा भविष्य देखिँदैन भन्ने मान्यता बलियो थियो । तर आज, त्यही पेसालाई आधुनिक “हेयर डिजाइनिङ” को पहिचान दिलाउँदै सयौँ युवाको भविष्य निर्माण गर्ने प्रेरक पात्र बनेका छन् रुपन्देहीका मोहन ठाकुर ।

रुपन्देहीको देवदह–शितलनगरको साधारण परिवारमा जन्मिएका मोहनको कथा केवल एउटा सैलुन व्यवसायीको सफलता होइन, यो नेपाली समाजमा सीप, श्रम र आत्मसम्मानको बदलिँदो दृष्टिकोण पनि हो ।

उनका हजुरबुबा गाउँ–गाउँ डुलेर कपाल काट्थे । बुबा रामविनोद ठाकुरले पनि त्यही पेसालाई निरन्तरता दिए । बिहानदेखि साँझसम्म गाउँ डुल्दा कसैले अन्न दिन्थे त कसैले दुई–चार रुपैयाँ । यही आम्दानीले घर चलेको थियो । सानो मोहन कहिलेकाहीँ बुबासँगै गाउँ जान्थे ।

हातमा कैँची समातेर बुबालाई सघाउँथे । तर बुबाको सपना भने अर्कै थियो—“छोरो सरकारी अधिकृत बनोस्, हाम्रो जस्तो दुःख देख्न नहोस् ।”
मोहनले पनि पढाइ छोडेनन् । सङ्घर्षकै बिच पढाइमा स्नातक तह पूरा गरे । केही समय गैरसरकारी संस्थामा अधिकृत तहमा जागिर पनि खाए । तर कार्यालयको कुर्सीमा बस्दा पनि उनको मन कतै बेचैन थियो । उनलाई महसुस भयो—“आफूसँग भएको सीप नै सबैभन्दा ठुलो शक्ति रहेछ ।”

“यो पेसामा भविष्य छैन…” जब उनले जागिर छोडेर सैलुन व्यवसाय गर्ने निर्णय गरे, परिवार नै चकित बन्यो । बुबाले रिसाउँदै भनेका शब्द आज पनि उनको कानमा गुन्जिन्छन्–“कपाल काट्ने नै हो भने किन यति धेरै खर्च गरेर पढेको ? समाजले हेप्छ !” मोहनका लागि त्यो केवल परिवारको विरोध थिएन, समाजको मानसिकतासँगको लडाइँ पनि थियो । तर उनले हार मानेनन् ।

मोहन ठाकुर । जसको नामै काफी बनिसकेको छ परिचयका लागि । बुटवलबाट एउटा उद्यम सुरु गरेर मुलुकभर चर्चा कमाएका सफल उद्यमी र सीप सिकाउने मास्टर ।

नेपालका एक जोशिला सैलुन व्यवसायी र अत्यन्त कुशल हेयर कलरिस्टका रूपमा स्थापित व्यक्ति हुन् मोहन ठाकुर । आफ्नो असाधारण विशेषज्ञताको कारण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल भएका छन् । जसले ग्राहकहरूलाई व्यक्तिगत र नवीन हेयर केयर समाधानमा सन्तुष्टि र ज्ञान दुबै दिन्छन् ।

थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय जर्नलहरू, म्यागेजिनहरू, न्युज पोर्टलहरूमा उनी छापिइसकेका छन् । उनको प्रभाव, क्षमता, सीप र कामप्रतिको समर्पणलाई उजागर गर्दै धेरै मिडियाले उनलाई स्थान दिएका छन् ।

मोहनको सफलतामा पुग्ने यात्रा सजिलो थिएन । सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका मोहनले आफ्नो सपना पूरा गर्न धेरै चुनौतीहरूको सामना गर्नुप¥यो । एकातिर पुर्खाले सुरु गरेर जीविकोपार्जनमा मात्रै केन्द्रित रहेको पेसा, अर्कोतिर धेरै युवामा विदेश मोह ।

यस्तो दुईतिरको चुनौतीको बिचमा पनि मोहनले यसरी सफलता हासिल हुने गरी हिम्मत जुटाउनु र लगानी सुरक्षित मात्रै होइन धेरैतिरबाट प्रशंसा पनि बटुल्न सक्नु उनको विशेषता हो ।

आधुनिक उपकरण, प्रविधि र नवीन अवधारणाहरूको प्रयोग गर्दै उनले पारम्परिक पेसालाई एक व्यवस्थित, ग्राहक केन्द्रित व्यवसायमा रूपान्तरण गरे । मोहनले निरन्तर सुधार र नवीनताको लागि आफ्नो ध्यान केन्द्रित राख्दै नेपालमा सौन्दर्य उद्योगको स्तर वृद्धि गर्न, आत्मसम्मान सहितको सानदार पेसाका रूपमा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सफल भए ।

आज, समृद्धि हेयर ड्रेसिङले हेयरस्टाइललाई कला र विज्ञानको संयोजनका रूपमा स्थापित गर्दै लक्जरी सेवाहरू प्रदान गर्ने एक प्रतिष्ठित ब्रान्डको रूपमा पहिचान बनाएको छ ।

मोहनको प्रभाव केवल उत्कृष्ट सेवा प्रदान गर्नमा सीमित छैन । उनले सौन्दर्य व्यवसायमा रहेको सम्भावना देखाउँदै नयाँ पुस्ताका हेयरस्टाइलिस्ट र व्यवसायीहरूलाई प्रेरणा दिएका छन् ।

तालिम, वर्कसप र व्यक्तिगत मार्गदर्शनमार्फत आधुनिक सौन्दर्य उद्योगमा सफल हुने नयाँ प्रतिभाहरूको लागि मार्ग निर्देशन समेत बनेका मोहन प्रोत्साहन र हौसलाको शैली वास्तवमै उत्साह जगाउने खालको छ ।

चाहे आफ्नो कपाललाई जीवन्त रङ्गहरूमा रूपान्तरण गर्न होस् वा हेयर केयर सम्बन्धी शैक्षिक सत्रहरू सञ्चालन गर्न नै किन नहोस् यी काममा मोहनले आफ्नो पौरख कला प्रस्तुत गर्दै आएका छन् ।

२०७३ सालमा साथीभाइसँग सापटी मागेर उनले करिब १० लाख रुपैयाँ लगानीमा बुटवलको अमरपथमा युनिसेक्स सलुन सुरु गरे । त्यो समय बुटवलमा आधुनिक, सफा, वातानुकूलित युनिसेक्स सैलुनको अवधारणा नयाँ थियो । सुरुमा धेरैले आलोचना गरे—“कपाल काट्ने ठाउँमा यत्रो लगानी ?” तर मोहनले बुझिसकेका थिए–समय बदलिँदै छ, मानिसको सोच बदलिँदै छ, र सेवा क्षेत्र पनि अब पेसागत सम्मानतर्फ अघि बढ्दै छ ।

कपाल काट्ने, हेयर स्टाइल, फेसियल, कलर, मेकअप आदिले सबैको मन जित्न सफल भए । पछि मोहनले आफ्नै ब्रान्ड “समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमी” स्थापना गरे । अहिले बुटवल, मणिग्राम, बर्दघाट, पोखरा र जितपुरसम्म यसको शाखा फैलिएको छ । तीन करोडभन्दा बढी लगानी पुगेको यस व्यवसायले ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । अब छिटै चितवनमा पनि शाखा विस्तार गर्ने लक्ष्य लिएका छन् ।

तर मोहनको सपना केवल सैलुन सञ्चालन गर्नु मात्र थिएन । उनी चाहन्थे—“सीप सिकाएर अरूलाई पनि आत्मनिर्भर बनाउने ।”
समृद्धि एकेडेमी आज पश्चिम नेपालको प्रमुख ब्युटी ट्रेनिङ हब बन्दै गएको छ । यहाँ हेयर ड्रेसिङ, हेयर केमिकल, मेकअप, स्किन केयर, स्टाइलिङ, ब्युटी थेरापी लगायतका व्यावसायिक तालिम दिइन्छ । आफूले विभिन्न देशमा गएर सिकेको सिपको सदुपयोग गर्दै पेसालाई आधुनिकीकरण गरेका छन् ।

बुटवलको सिंह कम्प्लेक्सको तेस्रो तलामा सञ्चालित एकेडेमीको विशेषता भनेको यसको प्रायोगिक प्रशिक्षण प्रणाली हो । यहाँ विद्यार्थीले केवल किताब पढ्दैनन्, वास्तविक ग्राहकसँग काम गर्दै सिक्छन् ।

त्यसैले उनीहरूमा आत्मविश्वास, व्यावहारिक दक्षता र बजारअनुसारको क्षमता विकास हुन्छ । हालसम्म ३ हजारभन्दा बढी युवाले यहाँबाट तालिम लिइसकेका छन् । कोही आफ्नै सैलुन सञ्चालन गरिरहेका छन्, कोही विदेशमा ब्युटी प्रोफेसनल बनेका छन्, त कोही प्रशिक्षक र उद्यमीका रूपमा स्थापित भएका छन् ।

मोहन भन्छन्–“सीप सिकेपछि बेरोजगार भएर बस्नुपर्दैन, सीप नै भविष्य हो ।” उनी भन्छन्–सुरुमा महिलाले पुरुषको कपाल काट्दा विकृति ल्याए भन्ने पनि थिए । यो सँगै समृद्धि र नील डेभिड सैलुनले अर्को सामाजिक परिवर्तन पनि ल्यायो–महिलाले पुरुषको कपाल काट्ने संस्कृतिको सुरुवात भो ।

सुरुमा धेरै ग्राहक हिचकिचाए । महिलाहरू स्वयं पनि डराए । तर आज परिस्थिति फेरिएको छ । महिला हेयर स्टाइलिस्टहरूकै माग बढेको छ । यो परिवर्तनले केवल व्यवसायलाई होइन, लैङ्गिक सोचलाई पनि बदलिदियो ठाकुर बताउँछन् । उनी भन्छन्–“कामको कुनै लिङ्ग हुँदैन, दक्षता र व्यवहारले नै सम्मान दिलाउँछ ।”

समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ । केही समय सञ्चार क्षेत्रसँग पनि जोडिएर काम गरे तर मोहनले केवल व्यवसाय विस्तार गरेका छैनन्, उनले एउटा पुरानो सोच परिवर्तन गरेका छन् ।

पहिले “हेपिने” मानिएको कपाल काट्ने पेसालाई उनले “हेयर डिजाइनिङ” जस्तो सम्मानित, आधुनिक र सिर्जनात्मक उद्योगमा रूपान्तरण गरेका छन् । आज उनी सीटीईभीटीसँग सम्बन्धन लिएर औपचारिक सीपमूलक शिक्षण संस्था खोल्ने तयारीमा छन् । उनको लक्ष्य अझ ठुलो छ–नेपालका युवालाई बिदेसिने बाध्यताबाट रोक्ने ।

मोहन ठाकुरको यात्राले समाजलाई एउटा गहिरो सन्देश दिएको छ–“काम सानो हुँदैन, सोच सानो हुन्छ । सीपलाई सम्मान गर्न सिकेपछि जीवन आफैँ समृद्ध बन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?