Butwal Today

बुटवलमा वृहत् सरसफाइ सम्पन्न

२४ जेष्ठ २०८३, आइतबार
अ+
अ-

बुटवल । पर्यावरण समाजको आयोजनामा सञ्चालन गरिएको वृहत् जङ्गल सरसफाइ अभियानमा अधिकांश मानिस विद्यार्थी,गृहिणी, योगा समूहका सदस्य गरेर १ हजार २ सयभन्दा बढी नागरिक सहभागी भए ।

बुटवलको शान्ति चोकदेखि माथिल्लो क्षेत्रमा करिब तीन किलोमिटर दूरीसम्म फैलिएको फोहरले थिचिएको नुवाकोट क्षेत्रको जङ्गल सफा गर्न पुगेका थिए ।  सरसफाइ अभियानमा सहभागी धेरैका लागि जङ्गलभित्रको वास्तविक अवस्था अप्रत्याशित थियो ।

हरियाली र स्वच्छ वातावरणको कल्पना गरेर पुगेका धेरैले जङ्गलको भुईँभरि छरिएका प्लास्टिक, चाउचाउका खोल, पानीका बोतल, मदिराका सिसा, कागज, डिस्पोजेबल सामग्री र अन्य फोहर सङ्कलन गरेका थिए ।

यो क्षेत्र चुरे संरक्षण क्षेत्रअन्तर्गत पर्छ । चुरे केवल वन क्षेत्र मात्र होइन, तराई–मधेसको जलस्रोत, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग जोडिएको महत्त्वपूर्ण भूभाग हो । यही क्षेत्रमा यसरी जथाभाबी फोहर थुप्रिनु वातावरणीय दृष्टिले गम्भीर विषय भएको सरोकारवाला बताउँछन् ।

कार्यक्रममा व्यापक नागरिक सहभागिता थियो । स्थानीय टोल विकास संस्था, आमा समूह, बाल क्लब, युवा समूह, योगा तथा जुम्बा समूह, सामाजिक सङ्घसंस्था, विद्यार्थी, शिक्षक, व्यवसायी, सुरक्षाकर्मी र सर्वसाधारण गरी १ हजार २ सयभन्दा बढी नागरिक एउटै उद्देश्यका साथ जङ्गलमा पुगेका थिए ।

फिर योग सिविर देविनगरका पदम जिसीले जङ्गल सफा गर्नु राम्रो सुरुवात भए पनि अब फोहर हुनै नदिने प्रणाली विकास गर्नुपर्ने बताए । उनका अनुसार स्थानीय सरकारले सामाजिक सङ्घसंस्था, टोल विकास संस्था र स्थानीय बासिन्दासँग सहकार्य गरेर नियमित निगरानी प्रणाली विकास गर्नुपर्छ ।

जङ्गल सफा भयो भने हामी मानिस र प्राणी दुवैको स्वास्थ्य राम्रो हुने भएकाले पनि यो सरसफाइ अत्यन्त सुन्दर काम भएको जि सीको भनाई छ ।

बुटवल १३ बेलवास शान्तिचोकबाट ८ किलोमिटर उकालो हिँडेपछि नुवाकोट पुगिन्छ । जंगलैजंगल हुँदै त्यहाँ जाने सबै बाटो पक्की छ । करिब ७ डिग्री तापक्रम कम हुने भएकाले तलको गर्मी छल्न ठुलो सङ्ख्यामा माथि जाने र बस्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?