Butwal Today

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, दुई दिनमा ६५ जिल्लामा नेतृत्व चुनिने

२३ जेष्ठ २०८३, शनिबार
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ । पार्टीको संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार अधिवेशन आयोजना गरिएको हो ।

रास्वपाले बिदाको दिन पारेर दुई चरणमा अधिवेशन सञ्चालन गर्न लागेको हो । पहिलो चरणअन्तर्गत आज शनिबार ३६ जिल्लामा अधिवेशन हुँदैछ भने दोस्रो चरणमा आइतबार २९ जिल्लामा अधिवेशन सम्पन्न गरिनेछ ।

आज कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा र सुनसरी गरी ८ जिल्लामा अधिवेशन हुँदैछ । मधेश प्रदेशका महोत्तरी र रौतहटमा पनि आजै अधिवेशन आयोजना गरिएको छ ।

बागमती प्रदेशअन्तर्गत दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुली गरी ८ जिल्लामा अधिवेशन हुँदैछ । गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी तथा लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पामा पनि आजै अधिवेशन हुने कार्यक्रम छ ।

त्यसैगरी कर्णाली प्रदेशका कालीकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुलामा पनि शनिबार अधिवेशन सञ्चालन भइरहेको छ ।

आइतबार भने कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेश प्रदेशका सिराहा, धनुषा, पर्सा र सर्लाही, बागमती प्रदेशका चितवन र ललितपुर तथा गण्डकी प्रदेशका तनहुँ, नवलपुर, गोरखा र लमजुङमा अधिवेशन हुने तय गरिएको छ ।

यस्तै लुम्बिनी प्रदेशका अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम पश्चिम, मुगु र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा आइतबार अधिवेशन सम्पन्न गरिनेछ ।

पार्टीका अनुसार आन्तरिक विवादका कारण बारा जिल्लाको अधिवेशन भने आगामी जेठ २६ गतेका लागि सारिएको छ ।

रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनअघि ७७ जिल्लामध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ । बाँकी ११ जिल्लामा भने राष्ट्रिय महाधिवेशनपछि क्रमशः अधिवेशन गरिने पार्टीले जनाएको छ ।

रास्वपाका महामन्त्री कबीन्द्र बुर्लाकोटीका अनुसार आगामी जेठ २६ गतेदेखि सातवटै प्रदेशमा प्रदेश अधिवेशनको प्रक्रिया पनि सुरु हुनेछ ।

पार्टीले जिल्ला तहदेखि संगठनलाई निर्वाचित संरचनामा रूपान्तरण गर्दै पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?