© 2026
अर्घाखाँची । विश्व वातावरण दिवस २०८३ को अवसरमा अर्घाखाँचीको शितगंगा नगरपालिकाले वडा नं. ११ स्थित गैडे सामुदायिक वनमा निर्माण गरिएको पुनर्भरण पोखरी परिसरमा वातावरणीय संवाद कार्यक्रम सम्पन्न भएको छ ।
वातावरण संरक्षण, वन डढेलो नियन्त्रण, जलस्रोत संरक्षण र दिगो विकासका विषयमा केन्द्रित डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा सरोकारवाला निकाय, जनप्रतिनिधि तथा स्थानीय समुदायको सहभागिता रहेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वातावरणीय सङ्कटका चुनौतीहरू सामना गर्न स्थानीय तह, समुदाय र सरकारी निकायबिच समन्वयात्मक प्रयास आवश्यक रहेको बताए । “वन संरक्षण, जलस्रोत व्यवस्थापन र डढेलो नियन्त्रण अब अभियानकै रूपमा अघि बढाउनुपर्छ,” उनको भनाइ छ ।
प्लास्टिकको प्रयोग घटाउने, पानीका स्रोतहरूको संरक्षण गर्ने, जैविक विविधताको रक्षा गर्ने तथा विकास निर्माणका कार्यलाई वातावरणमैत्री बनाउनु पर्ने प्रजिअ सुवेदीको भनाइ छ ।
कार्यक्रममा वडा अध्यक्षहरू नवराज भुसाल र तेजबहादुर बस्नेतलगायत अन्य वक्ताहरूले पनि वातावरण संरक्षणमा नागरिक सहभागिताको महत्त्व औँल्याएका थिए ।
जिल्लामा मिनी दमकल व्यवस्थापन, ड्रोन उडान अनुमति तथा वन डढेलो नियन्त्रणका लागि समूह परिचालनमा सहयोग पु¥याएको योगदानको कदर गर्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र पुनरुत्थान परियोजनाका सिता बेल्वासेलाई सम्मान गरिएको बरिष्ठ वन अधिकृत चन्द्र बहादुर भाटले बताएका छन् ।
कार्यक्रमको समापनमा पुनर्भरण पोखरीको डिलमा शित्तलचिनीका बिरुवा रोपिएको थियो । कार्यक्रम बरिष्ठ वन अधिकृत चन्द्र बहादुर भाटको अध्यक्षता, डिचिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काको सञ्चालन र गैडै सामुदायिक वनकी सचिव सिता बेल्वासेको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।