Butwal Today

अर्घाखाँची सेवा समाज कतारले २० औँ स्थापना दिवस भव्य रूपमा मनायो

२२ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

दोहा (कतार)  । कतारमा स्थापित सामाजिक संस्था अर्घाखाँची सेवा समाज कतारले आफ्नो स्थापना दिवस भव्य रूपमा मनाएको छ । समाजले बिहीबार एक कार्यक्रमका बिच २० औँ स्थापना दिवस  शुभकामना आदानप्रदान कार्यक्रम २०२६  उत्साहपूर्वक मनाएको हो ।

विधिगत रूपमा दीप प्रज्वलन गरेर स्थापना दिवसको केक काटेर समुद्घाटन गरिएको थियो । स्था

पना दिवसको अवसरमा समाजका सल्लाहकार, संरक्षक तथा बुद्धिजीवीहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै अर्घाखाँची जिल्लाको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए।

वक्ताहरूले अर्घाखाँची प्राचीन सभ्यता, धार्मिक आस्था र ऐतिहासिक सम्पदाले समृद्ध जिल्ला भएकाले जीवनमा कम्तीमा एक पटक अवश्य भ्रमण गर्नुपर्ने गन्तव्य रहेको बताएका थिए ।

दुई दशकअघि समाज स्थापना गर्दाको समय स्मरण गर्दै त्यस बेला कतारको सामाजिक तथा आर्थिक अवस्था अहिलेको जस्तो सहज नरहेको बताएका थिए। उनीहरूले स्थापना कालमा संस्थाका अभियन्ताहरूले देखाएको समर्पण, त्याग, मेहनत र एकताकै परिणामस्वरूप संस्था आजको सफल र सम्मानित अवस्थामा आइपुगेको उल्लेख गर्दै ती योगदानहरूको सदैव सम्मान र स्मरण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

समाजका संस्थापक संरक्षक क्रान्ति सिंहले कार्यक्रममा बोल्दै भारतका धेरै स्थानमा पतञ्जलि योगको प्रचार प्रसार गर्ने र उनका पिता अर्घाखाँची जिल्लामै जन्मिएका हुन् भन्ने कुरा उनले उल्लेख गरेका थिए।

सिंहले पौराणिक दृष्टिकोणबाट समेत अर्घाखाँची जिल्ला अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र रहेको धारणा व्यक्त गरे। साथै, समाजसेवा गर्दा सामाजिक सञ्जालमा गालीगलौज वा अनावश्यक आलोचनामा अल्झिनु भन्दा आत्मसन्तुष्टि, समर्पण र सकारात्मक सोचका साथ सेवा कार्यमा लाग्नुपर्ने उनले बताए।

समाजसेवाको वास्तविक उद्देश्य प्रचार भन्दा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउनु रहेको उनले भनाइ राखेका थिए।

कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष बालाराम पाण्डेयले नेतृत्व विकासका लागि संस्थाले विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिँदै सबैलाई संस्थासँग आबद्ध भई सक्रिय सहभागिता जनाउन आग्रह गरे।

पाण्डेयले  संस्थाको स्थापना दिवस भव्य र सफल रूपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई एकमुष्टमा धन्यवाद व्यक्त गरे। कार्यक्रममा कलाकार रामकृष्ण परियार लगायत अन्य कलाकारहरूको समेत सागिंतिक प्रस्तुति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?