© 2026
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएका छन् ।भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा शनिबार तीनदिने औपचारिक भ्रमणका लागि खनाल दिल्ली जान लागेका हुन् ।
खनालको भारत भ्रमणको क्रममा नेपाल–भारतबीचका विभिन्न सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ । उनले भारतीय विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि पनि पहल भए पनि निश्चित भइनसकेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भ्रमणका क्रममा कनेक्टिभिटी, सीमा विवाद, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पूर्व–पश्चिम रेलवे, जनकपुर–अयोध्या रेलमार्ग, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान विस्तार तथा व्यापार–पारवहनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी पेट्रोलियम पाइपलाइन विस्तार, नेपालको चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा तथा भारतमा नेपालीलाई भुक्तानीका लागि क्यूआर प्रणाली लागू गर्ने विषयमा पनि छलफल हुने सम्भावना रहेको बताइएको छ । यद्यपि भ्रमणका एजेन्डाहरू निश्चित गर्न संवाद जारी रहेको छ ।
भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने निर्णय गरेपछि सीमा विवाद पुनः चर्किएको पृष्ठभूमिमा मन्त्री खनालको भारत भ्रमण हुन लागेको हो । भारत भ्रमणमा रहेका सभापति लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा मोदीले नेपाल–भारत सम्बन्धका विषयमा छलफल गर्नुपर्ने विषयको सूची मागेका थिए ।