Butwal Today

कुशल भुर्तेलको कीर्तिमानी ब्याटिङ, लगातार दुई शतक

२१ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ गरेका छन्। अन्तर्राष्ट्रिय टी-२० खेलमा लगातार दुई शतक प्रहार गर्दै भुर्तेलले कीर्तिमान बनाएका हुन्।

बिहीबार भुर्तेलले एसियन गेम्स छनोटमा भुर्तेलले मलेसियाविरूद्ध १२६ रन बनाए। उनले ५४ बल खेलेर १४ चौका र ८ छक्का प्रहार गरे।

यसअघि उनले छनोटमै चीनविरूद्ध १२९ रन बनाएका थिए। लगातार दुई शतक प्रहार गरेसँगै भुर्तेलले दीपेन्द्रसिंह ऐरीलाई पछि पार्दै नेपालका लागि टी-२० मा सर्वाधिक रन बनाएका छन्। उनले टी-२० आफ्नो रन २२४० पुर्‍याएका छन्।

उनले टी-२० मा आफ्नो शतक संख्या तीन पुर्‍याएका छन्। नेपालका लागि टी-२० मा लगातार दोस्रो शतक हान्ने उनी पहिलो ब्याटर हुन्। साथै लगातार शतक बनाउने विश्वका दशौं खेलाडी हुन्।

भुर्तेलको शतकसँगै सिंगापुरमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २७५ रन बनायो।

भुर्तेलबाहेक नेपालका लागि आशिफ शेखले २४ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६८ रन बनाए।

कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३१ र सन्दीप जोराले १४ बलमा १५ रन जोडेर आउट भए। लोकेश बम पनि ६ बलमा १० रन जोडेर आउट भए। रोहित पौडेल शून्य र करण केसी ७ रन जोडेर आउट भए।

चीनलाई हराएका दुवै टोलीले सेमिफाइनलमा पुगेर एसियन गेम्समा छनोट भइसकेका छन्। आजको खेलमा जित हात पार्ने टोली समूह विजेता बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?