© 2026
काठमाडौं: भारतमा दक्षिणपश्चिम मनसुन औपचारिक रूपमा प्रवेश गरेसँगै नेपालमा मनसुन कहिले भित्रिन्छ भन्ने विषयमा चासो बढेको छ। भारतीय मौसम विभाग (आईएमडी) ले जुन ४ मा मनसुन केरलामा प्रवेश गरेको घोषणा गरेको छ। यस वर्ष मनसुन भारतमा औसत समयभन्दा तीन दिन ढिला पुगेको हो। सामान्यतया भारतमा मनसुन जुन १ मा केरलाबाट भित्रिने गर्छ।
भारतमा मनसुनको आगमनसँगै नेपालका मौसमविद्हरूले पनि यसको गतिविधिमाथि निगरानी बढाएका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन प्रवेशको सम्भावित समयबारे अध्ययन गरिरहेको जनाएको छ।
मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख मानिन्छ। उनका अनुसार भारतमा मनसुन प्रवेश गरेपछि सामान्यतया १२ देखि १३ दिनभित्र नेपाल आइपुग्ने भए पनि हरेक वर्षको अवस्था समान हुँदैन।
“हामी अहिले मनसुनको अवस्थाबारे निरन्तर अध्ययन गरिरहेका छौँ,” पोखरेलले भनिन्, “कहिलेकाहीँ भारतमा प्रवेश गरिसकेको मनसुन केही दिन त्यहीँ अड्किन सक्छ। त्यसैले ठ्याक्कै यति दिनमा नेपाल आइपुग्छ भनेर भन्न सकिँदैन। मनसुन नेपाल प्रवेश गर्नुअघि चार–पाँच दिनअगाडि नै आधिकारिक बुलेटिनमार्फत जानकारी दिनेछौँ।”
गत वर्ष नेपालमा मनसुन औसत समयभन्दा निकै चाँडो प्रवेश गरेको थियो। २०८२ सालमा मनसुन मे २९ तारिखमा नेपाल भित्रिएको थियो, जुन औसत मितिभन्दा करिब १५ दिनअघि हो।
नेपालबाट मनसुन बाहिरिने औसत मिति भने अक्टोबर २ मानिन्छ। यद्यपि हरेक वर्ष केही दिन तलमाथि हुन सक्छ। गत वर्ष मनसुन औसतभन्दा आठ दिन ढिलो, अक्टोबर १० मा बाहिरिएको थियो।
मौसमविद्हरूका अनुसार नेपालको वार्षिक मौसम चक्रलाई मुख्यतः चार भागमा वर्गीकरण गरिएको छ।
प्रि–मनसुन (मार्च–मे)
मार्चदेखि मेसम्मको तीनमहिने अवधिलाई प्रि–मनसुन भनिन्छ। अहिले देश यही चरणमा रहेको छ। यस अवधिमा स्थानीय वायु प्रणाली सक्रिय हुने, हावाहुरी, चट्याङ तथा असिना–पानी पर्ने सम्भावना बढी रहन्छ।
मनसुन (जुन–सेप्टेम्बर)
जुनदेखि सेप्टेम्बरसम्मको चारमहिने अवधिलाई मनसुन वा बर्खायाम भनिन्छ। नेपालमा वार्षिक वर्षाको अधिकांश हिस्सा यही समयमा हुने गर्छ।
पोस्ट–मनसुन (अक्टोबर–नोभेम्बर)
मनसुन समाप्त भएपछि सुरु हुने यो दुईमहिने अवधिमा मौसम क्रमशः सफा र सुख्खा बन्दै जान्छ।
विन्टर वा हिउँद (डिसेम्बर–फेब्रुअरी)
डिसेम्बरदेखि फेब्रुअरीसम्मको तीनमहिने अवधिमा जाडो मौसम रहन्छ। पश्चिमी वायु प्रणाली सक्रिय हुँदा हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षा हुने सम्भावना रहन्छ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिका लागि सार्वजनिक गरेको मौसमी प्रक्षेपणले देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखाएको छ।
जलवायु विज्ञान महाशाखाले वैशाख २५ मा जारी गरेको प्रक्षेपणअनुसार मनसुन अवधिमा देशका धेरैजसो स्थानमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ। साथै अधिकतम र न्यूनतम दुवै तापक्रम सरदरभन्दा माथि रहने अनुमान गरिएको छ, जसले यस वर्ष गर्मीको प्रभाव अझ बढी हुन सक्ने संकेत गर्छ।
विभागका अनुसार कर्णाली प्रदेशका दक्षिणी क्षेत्र, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी क्षेत्र तथा कोशी प्रदेशका दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पश्चिमी भूभाग तथा कोशी प्रदेशका मध्य भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको छ।
कर्णाली र कोशी प्रदेशका उत्तरी क्षेत्रमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ।
विशेषज्ञहरूका अनुसार वर्षा कम हुँदा कृषि उत्पादन, खानेपानी स्रोत, जलविद्युत् उत्पादन तथा वन डढेलो नियन्त्रणमा चुनौती थपिन सक्छ। अर्कोतर्फ अत्यधिक तापक्रमका कारण स्वास्थ्य जोखिम पनि बढ्न सक्ने देखिएको छ।
भारतमा मनसुन प्रवेश भएसँगै आगामी सात दिनभित्र केरलाका साथै तमिलनाडु, कर्नाटक तथा दक्षिण भारतका अन्य क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भारतीय मौसम विभागले जनाएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आगामी दुईदेखि तीन दिनभित्र मनसुन गोवा, महाराष्ट्र, आन्ध्र प्रदेश, कर्नाटक, तमिलनाडु, बंगालको खाडी क्षेत्र तथा उत्तरपूर्वी राज्यहरूमा तीव्र गतिमा फैलिने अनुमान गरिएको छ।
सामान्यतया मनसुनलाई भारतभर फैलिन करिब डेढ महिना लाग्छ। त्यसपछि सेप्टेम्बर मध्यतिर राजस्थान क्षेत्रबाट फिर्ती प्रक्रिया सुरु हुन्छ र अक्टोबर मध्यसम्ममा भारतबाट पूर्ण रूपमा बाहिरिन्छ।
नेपालमा भित्रिने मनसुन प्रत्यक्ष रूपमा बंगालको खाडी र भारतको भूभाग हुँदै आउने भएकाले भारतमा मनसुनको प्रगति नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। भारतमा मनसुनको गति, सक्रियता र फैलावटले नेपालमा मनसुन प्रवेशको समय, वर्षाको मात्रा तथा मौसमी प्रणालीको व्यवहारलाई प्रत्यक्ष प्रभाव पार्ने गर्छ।
यसकारण अहिले मौसमविद्हरू भारतमा विकसित भइरहेका मनसुनी प्रणालीको सूक्ष्म अध्ययन गरिरहेका छन्। आगामी एक सातादेखि १० दिनभित्र नेपालमा मनसुन प्रवेशको अवस्थाबारे थप स्पष्ट चित्र देखिने अपेक्षा गरिएको छ।