© 2026
बुटवल। लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा पछिल्लो समय तापक्रम क्रमशः बढ्दै गएको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेको छ भने दैनिक कामकाज, कृषि गतिविधि तथा स्वास्थ्य क्षेत्रमा समेत यसको असर देखिन थालेको छ।
प्रदेशका तराईका जिल्लाहरूमा दिउँसोको तापक्रम उच्च बिन्दुमा पुग्न थालेपछि सर्वसाधारणलाई घरबाहिर निस्कन कठिनाइ भएको छ। विशेषगरी बाँके, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम) लगायतका जिल्लामा गर्मीको प्रभाव बढी देखिएको छ। मध्यान्हको समयमा सडक, बजार तथा सार्वजनिक स्थलहरूमा मानिसको चहलपहल समेत घटेको छ। भैरहवा क्षेत्रको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्ने जनाइएको छ।
गर्मी बढेसँगै स्वास्थ्य सम्बन्धी समस्या पनि बढ्न थालेका छन्। अस्पतालहरूमा ज्वरो, डिहाइड्रेसन, टाउको दुख्ने, अत्यधिक थकान हुने तथा गर्मीजन्य अन्य समस्याका बिरामीहरूको संख्या वृद्धि हुन थालेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। चिकित्सकहरूले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घाममा लामो समयसम्म नबस्न, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको विशेष हेरचाह गर्न आग्रह गरेका छन्।
गर्मी बढेसँगै विद्युत् खपतमा समेत वृद्धि भएको छ। पंखा, एयर कूलर तथा अन्य विद्युतीय उपकरणको प्रयोग बढ्दा विद्युत् मागमा चाप परेको छ।
देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। यस्तो छ तीन दिनको मौसमी अवस्था:


