Butwal Today

लुम्बिनीमा एमालेबाट को को बन्दैछन् मन्त्री ?

२० जेष्ठ २०८३, बुधबार
अ+
अ-

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएपछि पार्टीले नयाँ मन्त्री सिफारिस गरेको छ ।

एमाले स्रोतका अनुसार नयाँ मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रुपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्री सिफारिस भएका हुन् । नयाँ मन्त्री नियुक्तिको अन्तिम निर्णय गर्न भने बाँकी रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

कांग्रेससँगको सत्ता साझेदारी तथा सरकार पुनर्गठनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गरेको हो। यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि प्रक्रिया केही समय रोकिएको थियो।

खत्रीले यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन्। एमालेले दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको एमालेका एक प्रदेश सभा सदस्यले बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। हाल एमालेबाट सरकारमा सहभागी भएका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले राजीनामा बुझाएका छन्।

प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय गरिसकेको छ। उक्त विषय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?