© 2026
गुल्मी । छत्रकोट गाउँपालिकामा विद्यार्थीहरूको निःशुल्क रूपमा मुटु रोग परीक्षण कार्यक्रम सुरु गरिएको छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको संयोजन तथा छत्रकोट गाउँपालिकाको आयोजनामा पालिका भित्रका सम्पूर्ण विद्यालयहरूमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
छत्रकोट गाउँपालिका अन्तर्गत सरस्वती माध्यमिक विद्यालयबाट सोमबारबाट शुभारम्भ गरिएको कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.सुमन्त बन्जाडे र डा.प्रदीप पाण्डे सहितको टोलीले विद्यार्थीको मुटु रोग परीक्षणको काम सुरु गरेको हो । गाउँपालिका भित्रका ४० विद्यालयका ४ हजार १९६ विद्यार्थीको मुटु रोग परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेले बताए ।
छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको बताएका छन् । उनले मुटु रोगको समयमै पहिचान र उपचारका लागि यस्तो अभियान प्रभावकारी र उपलब्धिमूलक हुने बताए ।
वरिष्ठ मुटु रोग विशेषज्ञहरूले आवश्यक परेका विद्यार्थीहरूको इकोकार्डियोग्राफी मार्फत स्वास्थ्य परीक्षण गरी रोग पहिचान गर्ने व्यवस्था मिलाइएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीका अध्यक्ष ताराप्रसाद भुसालका अनुसार परीक्षणका क्रममा मुटु रोग भएका विद्यार्थी भेटिएमा उनीहरूको आवश्यक उपचार व्यवस्थापनमा प्रतिष्ठानले सहजीकरण गर्ने जनाएको छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीले यस अघि गुल्मी दरबार गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा ३ हजार ९ सय ५० जना विद्यार्थीको मुटु रोग परीक्षण गरेको थियो । उक्त परीक्षणको क्रममा १० जना विद्यार्थीमा मुटु सम्बन्धी समस्या पहिचान भएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा.सुमन्त बन्जाडेले जानकारी दिए ।
तीमध्ये ८ जनालाई औषधि उपचार सुरु गरिसकिएको छ भने दुई जनालाई थप उपचारका लागि काठमाडौँ पठाउने व्यवस्था मिलाइएको डा.बन्जाडेले बताएका छन् ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रीय सदस्य अखिलेश्वर प्रसाद पाण्डेले बालबालिकामा मुटु रोगको प्रारम्भिक चरणमै पहिचान हुन सके उपचार सहज हुने र नेपाल सरकारबाट समेत उपचारको व्यवस्था हुने भएकाले यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताएका थिए ।