© 2026
सुनवल । पश्चिम नवलपरासीको सुस्तामा नदी नियन्त्रणको काममा भारतीय पक्षले अवरोध गरेको छ । वर्षा याम नजिकिँदै गर्दा बाढीको जोखिममा रहेको सुस्तामा धमाधम भइरहेको नदी नियन्त्रणको काममा भएको अवरोधले सुस्तावासी चिन्तित बनेका छन् ।
नारायणी पारीको ऐतिहासिक भूमि सुस्तामा नारायणी नदीले कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा अहिले तटबन्ध निर्माणको काम धमाधम भइरहेको छ । सङ्घीय सरकारको झन्डै १२ करोडको लागतमा उक्त तटबन्ध निर्माणको काम भइरहेको हो ।
सोही तटबन्ध क्षेत्रबाट थप १ सय ३२ मिटर दूरीमा नदी नियन्त्रणको काम गर्न नयाँ ठेक्का सम्झौता भइसकेको तर भारतीय पक्षले काम सुरु गर्न लाग्दा काम रोक्न भनेपछि तटबन्ध निर्माणको काम अगाडि बढ्न नसकेको सङ्घीय सिँचाइ विभाग अन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय चितवनका इन्जिनियर बेल बहादुर विश्वकर्माले बताए ।
भारतीय पक्षले अवरोध गरेपछि आइतबार नै सशस्त्र प्रहरी उपरीक्षक गोविन्द खाती सुस्ता पुगेका थिए । सो क्रममा स्थलगत रूपमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) संग छलफल गरे पनि उक्त पक्षले विवादित क्षेत्र भएकाले काम नगर्न भनेको थियो ।
नेपाली भूमिमा छिरेर भारतीय पक्षले ठेक्का लागेको काम गर्न रोक लगाउनु सार्वभौम मुलुकमाथिकै प्रश्न भएको सुस्तावासी बताउँछन् । सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले कुनै हालतमा काम रोकिन नहुने बताए ।
भारतले उक्त भूमि विवादित भने पनि विवादित क्षेत्रमा नपर्ने बताउँदै अनावश्यक बखेडा झिकेको बताए । दुई दिन भित्र काम सुरु नभए सुस्तावासी एक भएर ठेकेदारलाई सुरक्षा दिएर काम गराउने जयसवालले बताए ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले भारतीय पक्षसंग कुराकानी भएको र गृह मन्त्रालयमा पनि जानकारी गराइएको बताए । भारतीय पश्चिम चम्पारणका डिएमसंगको कुराकानीमा दुवै देशको सहमतिमा काम अगाडि बढाउँदा उपयुक्त हुन्छ भन्ने भनाइ आएको प्रजिअ नेपालले बताए । नेपाली पक्ष विवादित नभएको भूमिमा समेत काम अगाडि बढाउने पक्षमा देखिएको छैन । नेपाली सुरक्षा निकायले अहिले काम नगर्न ठेकेदार पक्षलाई भनिरहेका छन् ।
भारतीय पक्षले विवादित भूमि भन्दै काममा अवरोध खडा गरेको हो । तर सुस्तावासीले उक्त भूमि विवादित नभएको बताएका छन् । “तटबन्ध बनाउन लागेको क्षेत्र विवादित होइन”, स्थानीयको भनाइ छ । सुस्ताको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर मध्ये भारतले १४ हजार हेक्टर अतिक्रमण भएको छ भने १९ हजार ४ सय हेक्टर क्षेत्रफल विवादित भन्दै जोतभोग गर्न रोकिएको छ ।
सोही क्षेत्रमा तटबन्ध बनाउन थालेको भन्दै भारतले अवरोध गरेको स्थानीयले बताएका छन् । तर सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले तटबन्ध निर्माण गर्ने क्षेत्रमा नेपाली भूमि भएको बताउँदै तटबन्ध नबनाए सुस्ता नै नबच्ने अवस्था आउने बताए ।
अतिक्रमणमा परेको नवलपरासीको सुस्तामा कुनै सीमास्तम्भ छैन, सीमास्तम्भ नभएकै कारण भारतले सुस्ताको कुल भूभागको एक तिहाइ भूमि अतिक्रमण गरिसकेको छ भने बाँकी भूमिलाई विवादित जमिन भन्दै वर्षौँ देखि जोतभोग गर्न दिएको छैन ।
जसले गर्दा सुस्तावासीको अधीनमा चार भाग भूमिको एक भाग रहेको छ । सीमा स्तम्भ नहुँदा सिमलको रुखलाई सीमा स्तम्भ मानेर भारत र नेपाल तर्फको भूभाग छुट्टाइएको छ ।
२०६० सालमा सीमा सम्बन्धी विवाद भारतले उठेपछि झन्डै पाँच वर्ष पछि २०६५ सालमा नवलपरासीका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द खनाल नेतृत्वको टोली र भारतीय अधिकारी बिच सहमतिमै सिमलको रुखलाई आधार मानेर नेपाल भारत सीमा छुट्टाइएको हो ।
सुस्ताको थारु टोल उत्तर पूर्व पर्ने ठुलो सिमलको रूख बाट दुवैतर्फ बाटोलाई आधार मानेर भारत र नेपाल तर्फको भूभाग छुट्टाइएको छ । तर अहिले भारतीय पक्ष उक्त सिमलको रुखलाई सीमा स्तम्भ मान्न तयार छैन । “भारतीय पक्षले उक्त सीमा भन्दा वर नेपाल तर्फको कदमको रुखलाई अन्तिम बिन्दु भनेको छ । उनीहरूले कदमको रुख भनेका छन्, हामीले सिमलको रुख भन्दै आएको हो तर अहिले बन्ने तटबन्ध उनीहरूले दाबी गरेको कदमको रुख सम्म पनि पुग्दैन”, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले भने ।
तर पनि भारतीय पक्षले काममा अवरोध खडा गरेको छ । प्रधानमन्त्रीले संसदमा उभिएर नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति दिएर सीमामा बसेका नागरिकको अपमान गरेको सुस्तावासीको भनाइ छ ।
यसले सीमामा सतिसाल झैँ खडा भएका सुस्तावासीलाई झनै समस्यामा पारेको सुस्ताका स्थानीय युवा सन्तोष पाठकले बताए ।