© 2026
बैतडी । पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका सस्कार शिरोमणी ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै आएका छन् ।
पन्तले वैदिक विधिबाट दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेश लगायत एक सयभन्दा बढी धार्मिक कर्मकाण्ड गरेर सांस्कृतिक कुरीति हटाउने अभियान थालेका हुन् ।
दलित बस्तीमा धार्मिक कुरीति हटाउन पन्तले अहिलेसम्म ३७ वटा सप्ताह, २३ वटा शिवपुराण, २८७ वटा लघुरुद्राभिषेक १८१ महारुद्राभिषेक, न्वारन, व्रतबन्ध, विवाह, ६७५ सत्यनारायण पूजन, ५८३ ग्रह शान्ति, २९ शतचण्डी, ५५ अखण्ड रामायण लगायतका ४ सय एघार ४११ भन्दा बढी कर्मकाण्ड गरिसकेको बताए ।
जिल्लाको प्रसिद्ध श्री वनारसीधाम विश्व नाथ ज्योतिर्लिङ्गका मूल पुजारी समेत रहेका राजज्योतिषी पण्डित पन्तले यसअघि सांस्कृतिक कुरीति हटाउन आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना शिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको २ सय ९९ दलित महिला लाई दुधागो दोरक धारण गरेको बताए ।
आचार्य कृष्ण दमाईंले पशुपति कोटिहोमको व्यासबाट प्रवचन समेत दिएका थिए । धर्मग्रन्थमा दलित, महिला कसैलाई पनि जातीय र लैङ्गिक हिसाबले विभेद नगरिएको बताउँदै ज्योतिषी पन्तले समाजमा कायम रहेको छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवा तयार हुनुपर्ने बताउँदै आएका छन् ।
दलितको घरमा धार्मिक कार्य गर्दै भोजन ग्रहण समेत गर्दै आइरहेको छ । दलितहरू मा समेत विभेद रहेको छ । त्यो मलाई मन पर्दैन, यो गलत हो । हटाउनु पर्छ । एक दलित समुदायले अर्को दलित समुदायले पानी–भान्सा नचल्ने गरेको मैले देखेको छु ।
ज्योतिषी पण्डित गणेशप्रसाद पन्तका दलित बस्तीमा कर्मकाण्ड गर्न सुरु गरेपछि बुवा बाजेका पालादेखिका गैरदलित समुदायका पुर्ख्यौली पाँच सय ७५ यजमान छुटेका छन् । सांस्कृतिक कुरीति हटाउने अभियान सुरु गर्दा सामाजिक सञ्जाल मार्फत आफूमाथि तुच्छ गालीगलौज समेत हुँदै आएको पीडा उनको छ । दलितमाथि विभेद गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग उनको छ। पन्तले भने, ‘मलाई सामाजिक सञ्जालमार्फत तुच्छ गाली गरे पनि, म आफ्नो धर्म र कर्मबाट विचलित भएको छैन ।’
प्रत्येक हिन्दुको घर–घरमा वेद, पुराण, शालिग्राम, तुलसीको मठ, सङ्ख–घण्ट र पाञ्चायन देवताहरूको मठ स्थापना गराउने उनको योजना छ । ‘धर्म शास्त्रका आधारमा महिला र पुरुष दुई मात्र जात हुन्छन्, अन्य जात हुँदैन । मनुस्मृति आदी विभेदकारी ग्रन्थहरू संशोधन हुनुपर्छ,’ उनले भने ।