© 2026
सल्यान । मनसुनको समय नजिकिँदै गर्दा हुन सक्ने प्राकृतिक विपद् तथा दुर्घटनाबाट नागरिकको ज्यान जोगाउने उद्देश्यले सल्यानमा सुरक्षा निकायहरूले संयुक्त नमुना अभ्यास प्रदर्शन गरेका छन् ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त आयोजनामा शारदा नगरपालिका वडा नम्बर, ८ वारगाउँमा ‘मनसुन–६’ विपद् प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न गरिएको हो ।
नेपाली सेनाको श्री सिद्धि बक्स गण सिमखर्क ब्यारेक, जिल्ला प्रहरी कार्यालय सल्यान र सशस्त्र प्रहरी बल नेपाल गुल्म सल्यानको संयुक्त अगुवाइ तथा स्थानीय सरोकारवाला निकायहरूको सहकार्यमा आयोजित उक्त अभ्यासमा मनसुनका बेला आउन सक्ने बाढी, पहिरो तथा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण र उद्धार कार्यबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो ।
अभ्यासका क्रममा सडकमा पहिरो खसेर गाडी दुर्घटना भएको र यात्रुहरू पुरिएको कृत्रिम दृश्य तयार पारिएको थियो । दुर्घटनापछि सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेर डोरी तथा उद्धार उपकरणको प्रयोगमार्फत अप्ठ्यारो खोचबाट घाइतेहरूको उद्धार गर्ने प्रक्रिया प्रदर्शन गरेका थिए ।
उद्धारपछि घाइतेलाई तत्काल प्राथमिक उपचार प्रदान गर्दै सुरक्षित रूपमा स्वास्थ्य संस्थासम्म पुर्याउने कार्यसमेत नमुना अभ्यासमार्फत देखाइएको थियो ।
कार्यक्रमका क्रममा सुरक्षा निकायले विपद्का बेला प्रयोग गरिने खोज तथा उद्धार सामग्रीहरूको प्रदर्शनीसमेत गरेका थिए ।
श्री सिद्धि बक्स गणका गणपति प्रमुख सेनानी शिवनारायण श्रेष्ठले विपद् प्रतिकार्य योजना अन्तर्गत हरेक वर्ष यस्ता कृत्रिम अभ्यास सञ्चालन गरिँदै आएको जानकारी दिए । उनले मनसुन सुरु हुनुअघि गरिने यस्ता अभ्यासले विपद्को समयमा बच्ने र बचाउने उपायबारे नागरिकलाई जानकारी दिनुका साथै सङ्कटका बेला उद्धारमा खटिने निकायहरूबिचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने बताए ।
संयुक्त नमुना अभ्यासको अवलोकनका लागि जिल्लाका विभिन्न उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल लगायतले सुरक्षा निकायको यस्तो पूर्व तयारीले विपद्का बेला हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी उपरीक्षक दीपक पातली, सशस्त्र प्रहरी बल नेपाल गुल्म सल्यानका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक भरत बहादुर कुँवर, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत चन्द्रकमल खड्का, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, विभिन्न सुरक्षा निकायका सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो ।